आज तीनै तहका रिक्त पदका लागि उपनिर्वाचन, ७ बजेबाट मतदान सुरु हुदै

Machchapuchchre

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत व्यक्त गर्न सक्नेछन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ । रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्