भोलि शनिबार भक्तपुरका यी रुटमा सवारीसाधन चलाउन नपाइने, यस्तो छ कारण

Machchapuchchre

काठमाडौं । उपनिर्वाचनलाई लक्षित गर्दै भक्तपुरका विभिन्न स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । भक्तपुर प्रतिनिधिसभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र (क) मा हुने उपनिर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि शनिबार बेलुकी ९ बजेसम्म भक्तपुर जाने सवारीसाधनलाई विभिन्न नाकाबाट प्रवेश गर्न रोक लगाइएको हो।

निजी तथा सार्वजनिक सवारी साधन प्रवेशमा रोक लगाइएपनि जरूरी सवारीसाधन एम्बुलेन्स, शव वाहन, दमकल र निर्वाचन आयोगका अधिकृतबाट अनुमति प्राप्त सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ। भक्तपुरको अरनिको राजमार्ग साँगादेखि राधेराधेसम्मको सडकबाट उत्तरतर्फ जाने बाटो र राधेराधे चोकबाट निकोशेरा चोकसम्मका सडकबाट पूर्वतर्फ जाने सम्पूर्ण सवारी साधनहरूमा प्रवेश रोक लगाइएको छ।

साथै, पेप्सीकोला मनोहरादेखि निकोशेरा सडकबाट उत्तरतर्फ जाने बाटोमा पनि सवारीसाधन प्रवेश गर्न रोक लगाइएको छ। काठमाडौंबाट भक्तपुर जाने पेप्सीकोला मनोहरा र जडिबुटी मनोहरा नाका बाहेकका अन्य नाकाबाट प्रवेश निषेध गरिएको छ। त्यस्तै, काभ्रेबाट भक्तपुर जाने साँगा नाका बाहेक अन्य सबै नाकाहरूमा सवारीसाधनमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो।

यसैबीच शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदान केन्द्र व्यवस्थापन र अन्य तयारीका लागि व्यस्तता बढेको छ भने सम्बन्धित क्षेत्रका मतदाता आफ्नो अमूल्य मतदानका लागि व्यग्र प्रतीक्षामा छन् । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि हुन लागेको उपनिर्वाचनका लागि ती जिल्लामा तयारी पूरा भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्