कोरोनाको जोखिमलाई मध्यनजर गर्दैकांग्रेसद्वारा ठूला सम्मेलन र सभा स्थगित

Machchapuchchre

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सबै तहका ठूला भेला सम्मेलन र सभा अनिश्चितकालसम्म स्थगित गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको आग्रहलाई स्वीकारेर पार्टी र पार्टीसँग आवद्ध संस्थाका सभा सम्मेलन स्थगित गरिएको बताएकका छन् ।

‘विश्व स्वास्थ्य संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको छ,’ प्रवक्ता शर्माले सम्मेलनमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता शर्माले पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु भने जारी रहने बताए। ‘आन्तरिक कार्यक्रम बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरणलगायतका कार्यक्रम जारी रहन्छन्,’ शर्माले भने।

विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोबिड १९) बारे सरकार र समुदायका नाममा कांग्रेसले १४ बुँदे अपील जारी गरेको थियो। प्रवक्ता शर्माले विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने बताएका छन्।

उनले कोरोना संक्रमणबारे ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्