विदेश भ्रमण छोट्याएर एकाएक किन फर्किए परराष्ट्रमन्त्री ज्ञवाली ?

Machchapuchchre

काठमाडौं । रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भए पनि मन्त्री ज्ञवाली आजै स्वदेश फर्किएका हुन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उनी रुसको राजधानी मस्को प्रस्थान गरेका थिए ।

११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका उनको थियो । रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी मन्त्री ज्ञवालीले दिए ।

यसैगरी रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन निम्तो दिइएको जानकारी उनले दिए । नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट औपचारिक जवाफ नआएको उनले बताए ।

साथै रुस भ्रमणको क्रममा आफूले उद्धारका लागि र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको लागि कुरा गरेको रुसी नेताहरु सकारात्मक देखिएको पनि उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्