भारतीय जन्तीको स्वागत गर्न राष्ट्रपति जनकपुरमा, जानकी मन्दिरमा पूजापाठ

Machchapuchchre

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गरेकी छन् । विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम पुगेकी राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन् । पूजापाठपछि उनी मधेश भवनमा आयोजित दिवा भोजमा सहभागी हुँदै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नेछिन् ।

राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्याल पनि समेत जनकपुरधाम पुगेका छन् । दुबै मन्त्रीले राष्ट्रपतिसँगै जानकी मन्दिरमा पूजापाठ गरेका छन् । शुक्रबार नै बाह्रविघा मैदानमा आयोजित भव्य कार्यक्रमकाबीच भारतको आयोध्याबाट आउने जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले बताए ।

भारतीय जन्तीलाई स्वागत गर्न बाह्रबिघा मैदानमा मञ्चसहितको ठूलो पण्डाल बनाइएको छ । राष्ट्रपति, प्रदेशका मुख्यमन्त्रीसहितकाले यहाँ सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । भारतबाट आधुनिक गाडी, हात्ती, घोडालगायत सवारी प्रयोग गरी भारतीय जन्ती बिहीबार नै जनकपुरधाम आइपुगेका छन् ।

जन्ती जनकपुरधाममा प्र्रवेश गरेसंगै नेपाली कांग्रेसका उप–सभापति बिमलेन्द्र निधिसहित धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक शेखर खनाल, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, जानकी मन्दिरका महन्थ राम रोसन दास वैष्ढाव लगायत साधुसन्तले भव्य स्वागत गरेका थिए ।

रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत तेस्रो दिन बिहीबार धनुष यज्ञ सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्र विघामा रामसीताको धनुषलीला प्रतिकको रुपमा देखाइएको हो । त्रेतायुगमा भगवान श्रीराम एवम् जगतजननी माता सीताको स्वयम्वर भएको दिनलाई स्मरण गर्दै धनुषयज्ञ मनाइएको हो । रामको प्रतिकको रुपमा रहेका एक योद्धाले धनुष तोडे ।

धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र विवाह गर्ने प्रावधान राखेपछि भगवान राम अवतारले शिव धनुषमा प्रतञ्चा चढाउँदै धनुष भाँचेर रामसीताको विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत मनाइने पहिलो दिन जानकी नगरदर्शन गर्दै विधिवत रुपमा प्रारम्भ भएको थियो । बुधबार जानकी मन्दिरसंगै रहेको विवाह मण्डपमा सीताले फूल टिप्न गएको बेलामा रामसँग भएको पहिलो भेटको सम्झना स्वरुप फूलबारी लीला र भगवान रामले धनुष तोडे जस्तै देखाएर धनुष यज्ञ सम्पन्न भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्