अयोध्याका जन्तीलाई स्वागत गर्न राष्ट्रपति जनकपुर जाँदै

Machchapuchchre

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई स्वागत गर्ने भएकी छन् । त्यसका लागि राष्ट्रपति भण्डारी शुक्रबार जनकपुर प्रस्थान गर्दैछिन् ।

साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसअघि जनकपुरको जानकी मन्दिरमा उनले पूजापाठ पनि गर्नेछिन् ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइन्छ । सप्ताहव्यापी महोत्सव मंगलबारबाट नै शुरु भएको छ ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन अयोध्याबाट आएका जन्तीहरु बुधबार साँझ महोत्तरीको नाकाबाट नेपाल प्रवेश गरेका थिए । रामकलेवा विधि सम्पन्न भएपछि उनीहरुलाई बस्त्र आभूषणसहित बिदाई गरिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्