क्वारेन्टाइनमा रहेका १ सय ७५ जना सकुशल घर फर्किए

Machchapuchchre

काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली विद्यार्थीहरु स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् । दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनीहरु सोमबार नै घर फर्किएका हुन् ।

सोमबार ४ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो । भक्तपुरको खरिपाटीमा दुई सातासम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले क्वारेन्टाइनमा रहेका सबैको स्वाब रिपोर्ट नेगेटिभ आएका कारण उनीहरु क्वारेन्टाइबाट घर फर्काइएको बताए । शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको र उक्त परीक्षणको रिपोर्ट आज आएको हो ।

घर फर्किने क्रममा उनीहरु निकै खुशी बनेका थिए । उनीहरुले सरकारले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको प्रशंशा समेत गरेका छन् । चिकित्सकले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट सार्वजनिक गरेपछि सबैजना आफ्ना परिवारका सदस्य तथा आफन्तहरुको साथ रमाउँदै घर फर्किएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्