दिल्लीमा हिन्दु र मुस्लिमबीच तनाव, १३ जनाको मृत्यु, डेढ सय बढी घाइते

Machchapuchchre

काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ।

हिंसामा कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ । मारिनेमा १२ जना गैह्रसैनिक हुन् भने एक जना प्रहरी छन् । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्। पसल तथा घरहरूमा आगजनी गरिएको छ भने दङ्गाको दृश्य तथा भिडिओ नखिच्न पत्रकारहरुलाई पनि चेतावनी दिइएका छन्। कर्फ्यूका बाबजुद प्रदर्शनकारीले लाठी र ढुङ्गा बोकेर हिडिरहेका छन् भने हिन्दूविरुद्वका नारा लगाएका छन्।

हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणामा पनि सुरक्षा निगरानी उच्च पारिएको छ । सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल खटाउन केन्द्र सरकारसँग माग गरेका छन् । भारतले जारी गरेको नयाँ नागरीकता कानुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बाङ्ग्लादेशबाट भागेर आएका गैरमुस्लिमहरूलाई नागरिकता दिने बाटो खुला गरेको छ।

भारत आएर बसोबास गरिरहेका ६ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, इसाई र सिख) का मानिसहरुलाई भारतीय नागरिकता दिइए पनि मुस्लिमलाई भने नदिइने व्यवस्था भएपछि मुस्लिम समुदायले यसको बिरोध गर्दै आएका छन् । भारतीय संविधानको अनुच्छेद–१४ मा उल्लेखित समानताको अधिकारका विरुद्ध रहेको उक्त कानून नसच्याइएसम्म आन्दोलन जारी राख्ने मुस्लिम समुदायले चेतावनी दिदै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्