कास्की । जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ । मङ्सिर १३ गते राति १२: ०० बजेदेखि सो बन्देज शुरु भएपछि निर्वाचनको अवधिभर जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
अति आवश्यक सेवामा एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवाका साथै चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई रोक लगाइएको छैन् ।
यसका साथै, कास्की क्षेत्र नं–२ भएर अर्को जिल्लामा आवतजावत गर्ने सवारी साधनलाई पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा याम्दी पुल, दक्षिण–पश्चिममा कालीमाटी खोलामा गाडी रोकेर राखिने सूचनामार्फत जानकारी गराइएको छ ।
त्यस्ता गाडीलाई तीन/तीन घण्टाको अन्तरालमा स्किर्टिङ गर्ने र बीचमा कुनै यात्रुलाई चढाउन तथा ओराल्न नपाउने गरी व्यवस्था मिलाइएको छ । यसका साथै, मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न अनुरोध गरिएको छ ।