अपडेट – अर्घाखाँची दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो, ११ को सनाखत

Machchapuchchre

अर्घाखाँची । नरपानीस्थित सातामाटामा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । दुर्घटनामा १७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बस साँघुरो घुम्ती पार गर्न नसकेर दुर्घटना भएको हो । लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा बसधनी, चालकसँगै सात महिला र १२ पुरुषले ज्यान गुमाएका छन् । बस सडकबाट तल खसेर दुई टुक्रा भएको छ। भीरमा छरिएको अवस्थामा सुरक्षाकर्मीले घाइतेको उद्धार र शव संकलन गरेका छन्।

मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ । सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका-२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् । कपिलवस्तुको चप्परगाउँ बस्दै आएकी सीता बस्नेत बस धनी सन्तबहादुर बस्नेतकी भाइबुहारी हुन् ।

मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् । यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५-६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

घाइतेहरुको चौराहा अस्पताल बुटवल, भैरहवा मेडिकल कलेज र ललितपुरमा उपचार भइरहेको छ । चौराहा अस्पताल बुटवलमा उपचाररत ६ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका-२ की अमृता पौडेलको अवस्था गम्भीर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्