काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या १८ सय नाघ्याे, सङ्क्रमितको सङ्ख्या ७४ हजार बढी

Machchapuchchre

काठमाण्डौ । चीनमा कोरोना भाइरस (काेभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ । काेराेनाका कारण चीनबाहिर चार जनाकाे ज्यान गइसकेकाे छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।

बेइजिङमा रहेको वित्तीय र समाचार मिडिया सङ्गठन, केग्सनले कोरोनाका कारण तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताएको छ । यो सङ्ख्या चीन सरकारले दाबी गरेको भन्दा झण्डै दोब्बरले बढी हो । सञ्चार संस्था अल जजिराले सोमबार प्रकाशित गरेको एक प्रतिवेदनअनुसार कोरोनाको प्रकोप रोक्न खटिएका डाक्टर र नर्सले कठिनाइको सामना गरिरहेका छन् ।

गएको १४ फेब्रुअरीमा सरकारी तथ्याङ्कले कोरोना सङ्क्रमितको उपचारमा खटिएका एक हजार सात सय १६ जना चिकित्सक सङ्क्रमित भएको देखाएको थियो ।
गम्भीर अवस्थामा झण्डै आधा बिरामीले ज्यान गुमाउने गरेको पनि समाचार संस्थाले जनाएको छ ।

‘८० प्रतिशतभन्दा बढी बिरामी हल्का लक्षण देखिएपछि ठिक हुन्छन् । १४ प्रतिशत निमोनिया जस्तो गम्भीर र जटिल समस्याबाट पीडित हुने गरेका छन् । पाँच प्रतिशत गम्भीर स्थितिमा छन् र दुई प्रतिशत रोगबाट मर्ने गरेको चिनियाँ स्वास्थ्य तथ्याङ्कले देखाउँछ’, विश्व स्वास्थ्य सङ्गठन प्रमुखले भनेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्