बैद्य माओवादीका पोलिटब्युरो सदस्य शर्मासहित दर्जनौ नेता गिरफ्तार

Machchapuchchre

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका विरुद्ध पनि ओली नेतृत्वको सरकारले दमन गर्ने नीति लिएको देखिन्छ । हालै सो पार्टीका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेशका सचिव सीपी शर्मा, केन्द्रीय सदस्य दीपकबहादुर शाही लगायत दर्जनौ नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको बताएको छ ।

पार्टीले शान्तिपूर्ण कार्यक्रम गरिरहेका बेला हस्तक्षेप गरी नेता कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरेको माओवादीले जनाएको छ । पार्टी तथा पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको घोषित नीति तथा कार्यक्रम अनुसार मंसिर १४ को उपनिर्वाचन बहिस्कारको कार्यक्रममा सहभागि नेता कार्यकर्ताहरुका विरुद्ध राज्य दमन र धरपकडमा उत्रिएको र गिरफ्तार गर्ने, झुठा मुद्दा लगाउने र अपराधीलाईझै हत्कडी लगाउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ।

यस्तै प्रहरीले उता दाङको हापुरेमा आयोजित उपनिर्वाचन बहिस्कार सभालाई प्रभावित तुल्याउने गरी सभाको तयारीमा जुटेका पार्टीका केन्द्रीय सदस्यहरु हिरामणि दुःखी र निरज केसीलगायत ६ जनालाई गिरफ्तार गरेको जनाएको छ । यस्तै उता धरानबाट आइतबार पार्टीका केन्द्रीय सदस्य मोहन लिम्बू र विमल लगायत नौ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।

 

मंगलबार सल्यानमा शर्मा र शाही लगायत ४ जनालाई गिरफ्तार गरेको प्रहरीले मंगलबारै राष्ट्रिय स्वाधीनताको विषयमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर फर्कदै गर्दा पार्टीका केन्द्रीय सदस्य फुर्नाम्गेल मोक्तानसहित ४ जनालाई गिरफ्तार गरेको छ। व्यापक विरोध भएपछि दाङ र सिन्धुपाल्चोकबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई छाडिए पनि सल्यान र धरानबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई छाडिएको छैन । उल्टै झुठा मुद्दामा फसाउने षड्यन्त्र भइरहेको क्रान्तिकारी माओवादीले जनाएको छ ।

मंगलबारै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले वक्तव्य जारी गरी गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुमाथि लगाइएको झुठा मुद्दा खारेज गरी अविलम्ब रिहाइ गर्न माग गरेका छन् । पार्टीको प्रदेश नम्बर १ र ३ सचिवहरु रत्न र प्रवेशले वक्तव्य जारी गरी सरकारी दमनलाई क्रान्तिकारी र देशभक्तमाथि फासिवादी र निरंकुश हमला भन्दै सशक्त प्रतिरोधमा उत्रने चेतावानी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्