‘उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्नु हुदैन, त्यागी, इमान्दार नेता खेमराजलाई जनताले न्याय गर्नुपर्छ’

Machchapuchchre

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा बुधबार आयोजित पत्रकार भेटघाटमा उनले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताए ।

कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने धारणा राखे । कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै उनले झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह गरे।

कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले आफू चनाव विजयको नजिक रहेको बताएका छन् । उनले जनताका आकांक्षा र मनोभावनाका साथै कांग्रेस पार्टीप्रति जनताको विश्वासका कारण आफू विजय निकट रहेको स्पष्ट पारे । नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिले बुधबार आयोजना गरेको उम्मेदवारसंगको भेटघाट कार्यक्रममा उनले सरकारका विभिन्न काण्डबाट जनता वाक्क दिक्क भएको भन्दै यस पटक कांग्रेसको जित सुनिश्चित भएको बताए ।

जनताको सोंच पार्टी र व्यक्ति भन्दा निकै माथि पुगिसकेको र विवेकी भइसकेको आफूलाई महसूस भएको उम्मेदवार पौडेलले बताए । उनले यो चुनाव कांग्रेसको प्रतिष्ठाको विषय भएकाले पनि निकै महत्वपूर्ण भएको स्पष्ट पारे ।

‘यो चुनाव पार्टीले जित्ने हो । म त निमित्त मात्रै हो । मैले यो चुनावलाई अवसरको रुपमा लिएको छु र चुनाव जित्छु भन्ने कुरामा पनि ढुक्क छु’, उनले भने । मानिसको आदर्श र विचार कहिल्यै बुढो नहुने भन्दै उन्दै उनले आफूलाई उमेरले केही फरन नपारेको बताए ।

‘वीपी कोइराला पनि विचार र आदर्शको अगाडि उमेर केही होइन, उमेरले विचार र आदर्शलाई प्रभावित पार्न सक्दैन भन्नुहुन्थ्यो । मेरो पनि मान्यता यही हो’, पौडेलले भने, ‘अबको बाँकी जीवन समाजसेवामै लगाउने अठोट लिएर मैदानमा ओर्लिएको छु ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्