आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, कसरी भयो सुरुवात ?

Machchapuchchre

काठमाडाैं । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको देखिन्छ ।

हुन त हामीले सुन्दै पनि आएका हौँ, ‘एकजना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राटको आदेश विपरित प्रेम जोडीहरुको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राटले सेन्टलाई मृत्युदण्ड दिए । त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ ।’ मूलधारका इतिहासकारहरुले यसैलाई भ्यालेन्टाइन्स डेको प्रादूर्भावको रुपमा लिन्छन् ।

को थिए त सेन्ट भ्यालेन्टाइन ?
सेन्ट भ्यालेन्टाइनको जन्मबारे हालसम्म कुनै ऐतिहासिक तथ्य बाहिर आएको छैन । यद्यपि उनीबारे तेश्रो शताब्दी उत्तरार्धपछिका जानकारी मात्र उपलब्ध छन् । सेन्ट भ्यालेन्टाइनको कथा यस्तो छ-

रोमन साम्राज्यको स्थापनादेखि नै रोमन सैनिकलाई विवाह गर्न प्रतिबन्ध थियो । तैपनि केही रोमन सैनिकहरु आफूलाई खटाइएको स्थानका महिलाहरुसँग विवाह गर्थे ।सन् २३५ मा तत्कालीन रोमन सम्राट सेभरस अलेक्जेण्डरको हत्या पछि रोमन साम्राज्यमा अराजकताको अवस्था आयो । महामारी, गृहयुद्ध, आर्थिक संकट इत्यादी कारणले रोमन साम्राज्यको अवस्था दयनीय बन्दै आयो । रोमन सैनिकहरुले यस्ता नियमको बेवास्ता गर्न थाले ।

सन् २६० को दशकमा रोमन साम्राज्यमा गलेनियस नामक सम्राटको शासन थियो । त्यसबेला रोमन साम्राज्यमा अलेमानी, गोथिक लगायतका पेगन तथा बर्बरियन जातिले रोमन साम्राज्यमा आक्रमण गरिरहन्थे । पेगन र बर्बरियन जातिको आक्रमणबाट रोमन साम्राज्य कमजोर हुँदै आइरहेको थियो । सन् २६८ मा सम्राट गलेनियसको हत्या भयो । उनको हत्यापछि उनको स्थानमा सम्राट बन्न आइपुगे मार्कस अउरेलियस क्लाउडियस गोथिकस नामक मानिस । उनी सम्राट गलेनियसको सेनामा सैनिक अधिकारी थिए ।

उनी गोथिकहरुलाई पराजित गरेका कारण पछि गएर सम्राट क्लाउडियस गोथिकस कहलाए । उनको निर्दयिता पनि उत्तिकै कुख्यात थियो । निर्दयिताका कारण नै उनलाई ‘क्लाउडियस द क्रुल’ को नामले पनि चिनिन्छ । बर्बरियन तथा पेगनहरुको आक्रमण बढ्दै जाँदा क्लाउडियसले सेनालाई मजबुत बनाउनका लागि पुनः सैनिकहरुलाई कामबासनामा सामेल हुन तथा विवाह गर्न प्रतिबन्ध लगाइदिए । विवाह गर्न तथा कामबासनामा सामेल हुन नपाएका कारण रोमन सैनिकहरुलाई असहज हुँदै गयो ।

त्यसपछि मात्रै ईसाई धर्मका गुरु सेन्ट भ्यालेन्टाइनबारे जानकारी अगाडि आउँछन् । उनले सन् २६० को दशततिर सयौँ वा हजारौँ रोमन सैनिकको विवाह गराइदिएको बताइन्छ । त्यसबेला रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बी कठोर दमनको शिकार हुने गर्थे । त्यसको शिकार सेन्ट भ्यालेन्टाइन हुनपुगे । आफ्ना सैनिकको विवाह गराइदिने गरेको थाहा पाएर सम्राट क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए । त्यसपछि उनलाई पक्राउ गरी रोम शहरका प्रफेक्टका सामुन्ने सार्वजनिक स्थानमा घिसारिएर ल्याइयो ।

उनलाई सम्राट क्लाउडियसले आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएको बताइन्छ । तर, उनले ईसाई धर्म त्याग गर्ने नभई बरु मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकरहरु बताउँछन् । त्यसपछि उनलाई जेलमा राखियो । जेलमा रहँदा उनले आफ्ना जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ । सेन्ट भ्यालेन्टाइनले जेलरकी उनै दृष्टिविहीन छोरीको दृष्टि फर्काइदिएको समेत बताइन्छ । त्यसपछि उनलाई मृत्युदण्ड दिइयो ।

परम्परागत रुपमा पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे सामाजिक सञ्जाल तथा विश्वव्यापीकरणका कारण पछिल्लो समय पूर्वी एशियातर्फ पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ । नेपाल पनि यसबाट अछुतो छैन । मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइनबाट’ भन्ने सन्देश छाडेका थिए भन्ने किंबदन्ती छ ।

उनलाई सन् २७० मै वा त्यही वर्षको आसपास फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ । त्यसपछिका वर्षहरुमा रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बीलाई दमन जारी नै रहेका कारण उनीबारे धेरै विवरण उपलब्ध छैनन् । उनको मृत्युदण्ड पछि उनलाई ईसाई धर्मको शहीद घोषणा गरी सेन्टको दर्जा दिइयो ।

त्यसपछि चौथो शताब्दीको पूर्वार्धमा पोप जुलियस द फस्र्टले उनको चिहान रहेको स्थान भाया फ्लामिनामा स्मारकको स्थापना गराइदिएका थिए । पछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरेका थिए । त्यसपछि भ्यालेन्टाइन डेबारे त्यति चासो दिइएको थिएन । मध्ययुगमा युरोपमा आएको पुनर्जागरण पछि मात्रै भ्यालेन्टाइन डे चर्चित भएको हो ।

पछि २० औं तथा २१ औं शताब्दीमा उपभोक्तावाद तथा पुँजीवादको विकासपछि उत्पादित सामानको विक्री बढाउनका लागि भ्यालेन्टाइन डेलाई अधिकै चर्चित बनाइँदै आइएको छ । त्यसबाहेक पछिल्ला केही वर्षमा भ्यालेन्टाइन्स डेको एक साताअघि देखि चकलेट डे, टेडी डे, रोज डे र अन्य डेहरु पनि मनाउन थालिएको छ । यसलाई उपभोक्तावादको बढ्दो सँस्कृतिका रुपमा लिने गरिएको छ ।

परम्परागत रुपमा पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे सामाजिक सञ्जाल तथा विश्वव्यापीकरणका कारण पछिल्लो समय पूर्वी एशियातर्फ पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ । नेपाल पनि यसबाट अछुतो छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्