जनयुद्ध दिवसकै दिन प्रचण्डकाे खुलासा – गिरिजाले ठूल्‍ठूला आक्रमण गर्नुस् भन्‍नुहुन्थ्यो

Machchapuchchre

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा प्रचण्डले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्‍त्री एवं कांग्रेस सभापति कोइरालाले आक्रमणलाई मजबुत बनाउन भनेको कुरा स्मरण गराएका हुन् ।

‘नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आक्रमण बढाउनु पर्‍यो भन्‍नुहुन्‍थ्यो मलाई। फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो,’ उनले सम्झे, ‘सदरमुकाम हान्‍नुपर्‍यो भन्‍नुहुन्‍थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो।’ अध्यक्ष प्रचण्डले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए।

अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र माओवादीबीच संविधान निर्माणतर्फ जाने भन्‍ने सहमतिकै जगमा कांग्रेससँग पनि मिल्न पुगेकी बताए। देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन तत्कालीन ७ राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)को समझदारीमा भएको दाहालको भनाइ थियो। दलहरुबीचका फरक किसिमबाट बनेको एकताले देशमा संविधान निर्माण र संघीयता आएको उनले बताए।

त्यस्तै नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताएका छन्। उपाध्यक्ष गौतमले नेपालको जनयुद्धमा भएको बलिदान जति विश्वमै कहीं नभएको बताए। आफूहरुको उद्देश्य सामन्तवादको समाप्त र दलाल पुँजीवादलाई राष्ट्रियय पुँजीवाद बनाउने बाटोमा अग्रसर भएको पनि उपाध्यक्ष गौतमले बताए। ‘हामी लोकतान्त्रिक पद्धतिको माध्यमबाट समाजवाद स्थापना गर्ने बाटोमा लाग्दैछौं। हाम्रो अभ्यास नयाँ हो।’

गल्ती कमजोरी नगरी कोही पनि अगाडि बढ्न नसक्ने भन्दै पार्टीभित्र देखिएका अन्तरविरोधहरु छिट्टै हल हुने पनि उनले बताए।जनयुद्धका क्रममा तत्कालीन एमालेले पनि ठूलो क्षति बेहोर्नुपरेको गौतमले बताए। ‘जनयुद्धको क्रममा ३ सयभन्दा बढी एमाले कार्यकर्ताले रगत बगाएका छन्। जे नहुनुपर्ने थियो, त्यो भयो,’ गौतमले भने। कार्यक्रममा नेकपा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवाली लगायत नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्