दिल्ली विधानसभा निर्वाचनको मतगणना शुरु, आम आदमी पार्टीको अग्रता

Machchapuchchre

काठमाडौं । भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना शुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न ‘एक्जिट पोल’ले देखाएका छन्।

मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण तथा प्रारम्भिक मतगणनाले तुलनात्मक रूपमा लामो इतिहास नभएको आपले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो धक्का दिने देखाएका हुन्।

यहाँका क्षेत्रीय दलले शक्तिमा रहँदा शिक्षा र विकासमा दिएको ध्यानको निकै प्रशंसा हुनेगरेको बीबीसीले उल्लेख गरेको छ। भाजपाले त्यहाँ आफ्नो सङ्घीय गृहमन्त्रीको नेतृत्वमा निकै चर्को निर्वाचन अभियान सञ्चालन गरेको थियो। मङ्गलवार बिहानसम्म प्रारम्भिक मतगणनामा आप ५० भन्दा बढी स्थानमा अगाडि देखिएको छ। त्यहाँ सरकार बनाउन कुल ७० मध्ये ३६ सीट जित्नुपर्छ।

दिल्लीको निर्वाचनलाई निकै साङ्केतिक रूपमा हेरिन्छ। अन्य राज्यमा जसरी त्यहाँका स्थानीय सरकारमा पूर्ण रूपमा प्रशासनिक शक्ति हुँदैन। पछिल्लो कार्यकालमा त्यहाँको नेतृत्व गरेका आपका चामत्कारिक मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यलाई व्यापक स्वायत्तताको माग गरेका थिए।

दिल्लीमा प्रहरीमाथिको नियन्त्रण, भूमि र कानुन कार्यान्वयन सङ्घीय सरकारको हातमा हुन्छ। यसपालि त्यहाँको निर्वाचन अभियान निकै उग्र रूपमा सम्पन्न भएको थियो। दिल्ली सरकारको कार्यकाल फेब्रुअरी २२ मा सकिँदैछ। सन् २०१५ मा भएको निर्वाचनमा आम आदमी पार्टीले ७० मा ६७ सीट जितेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्