प्रचण्डलाई पत्तै नदिइ ओलीले बोलाए आफूनिकट नेताहरूको गोप्य बैठक, काे-को भए सहभागि ?

Machchapuchchre

काठमाडौँ । पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन् । काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सहभागी एक नेताले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

‘जति हैन भनेर दाबी गरे पनि केन्द्रीय कमिटी बैठकमा हाम्रो स्थिति अलि रक्षात्मक भयो । सरकारको काममा पनि आलोचना हुन थाल्यो,’ ती नेताले कान्तिपुरसँग भने, ‘त्यसैले पार्टी र सरकारमा अझै कसरी प्रभावकारी उपस्थिति हुन सक्छ भन्नेबारे कुराकानी गर्न जुटेका हौं ।’ यसरी छलफलमा जुट्नुको कारण भने प्रधानमन्त्री ओलीकै चाहना रहेको उनले बताए ।

सरकारको नियमित काम, एमसीसी, यति होल्डिङ्ससँगको साइनोलगायत विषयमा सरकार र प्रधानमन्त्री ओलीलाई अनावश्यक घेराबन्दीमा पारिएको भन्ने मुद्दा छलफलका एजेन्डा थिए । ‘यी विषय पनि छलफलमा आए । पार्टी र सरकारमा कसरी प्रभावकारी उपस्थिति जनाउने भन्ने बारेमै कुराकानी भयो,’ उनले भने । सरकारका राम्रा कामको प्रचारप्रसारमा कमी भएको र पार्टीमा पनि आफ्नो पक्षभन्दा अरू पक्ष हाबी हुन खोजेको विषयमा गम्भीर समीक्षा भएको उनले बताए ।

छलफलका सहभागीमध्येका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने उक्त भेट कुनै रणनीतिक छलफलका लागि आयोजना नगरिएको दाबी गरे । उक्त छलफल अनौपचारिक जमघट भएको उनको भनाइ थियो । ‘पैंतीसौं वर्ष सँगै काम गरेका साथीहरू कोही मन्त्रीका सल्लाहकार भएका छन्, कोही मन्त्री भएका छन्,’ उनले भने, ‘केही साथी यसो जम्मा भएर चिया–कफी खाएको मात्रै हो ।’ दिउँसो ४ बजेदेखि छलफलमा जुटेका यी नेताहरू करिब साढे ८ बजेसम्म बसेका थिए ।

त्यसअघि दिउँसो ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दिउँसो तीन घण्टाअघि नै सारिएको थियो । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा निर्णय गर्न डाकिएको मन्त्रिपरिषद् बैठक भने बिनानिष्कर्ष मंगलबार बिहानसम्मका लागि सर्‍यो । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ सिधै गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालय गएका थिए ।

उक्त भेलामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपा प्रचार विभाग इन्चार्ज एवम् केन्द्रीय सदस्य राजेन्द्र गौतमलगायत १०/१२ जना नेता सहभागी भएको स्रोतको दाबी छ । ‘उहाँहरू एकदम गोप्य तरिकाले ठाउँ खोज्दै पशुपति प्लाजामा रहेको फाउन्डेसनको कार्यालय पुग्नुभएको हो,’ स्रोतले भन्यो ।

गौतमले भने उक्त भेला गुट या समूहको बैठक नभई मन मिल्ने साथीहरूको अनौपचारिक छलफल भएको बताए । ‘हामी केही साथीहरूको अनौपचारिक छलफल हो, बैठकै बसेर भव्य निर्णय गर्नुपर्ने इस्यु केही थिएन,’ उनले भने । माघ १९ मा सकिएको नेकपा केन्द्रीय कमिटी बैठकमा दिवंगत नेताहरूको नाममा खोलिएका प्रतिष्ठान, फाउन्डेसन र संस्थाहरू गुट उत्पादन गर्ने अखडा बनेको भन्दै तीव्र आलोचना भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्