आईजीपी सर्वेन्द्र खनाल भोलिदेखि अवकाश पाँउदै, को बन्दैछ नयाँ आईजीपी ?

Machchapuchchre

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले (भोलि) मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । ३० वर्षे सेवा अवधिका कारण उनले अनिवार्य अवकाश पाउन लागेका हुन। उनी मंगलबारदेखि अनिवार्य अवकाशमा बस्ने भए पनि नयाँ आईजीपीबारे अझै टुंगो लाग्न सकेको छैन । महानिरीक्षक खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन् ।

बहालवाला आईजीपी अवकाश पाउनुअघि नै बिदामा बसेर भावी आईजीपीलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलन भए पनि नयाँको टुंगो नलाग्दा यो सम्भव हुन सकेन । खनालले आफ्नो कार्यकाल बढाउने कोशिस गरेको आरोप लाग्दै आएको छ । खनाल दुई वर्षअघि २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक बनेका थिए ।

आईजीपीमा तीन डीआईजी दाबेदार
खनालपछि महानिरीक्षकमा तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु दाबेदार छन् । प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दाबेदार रहे पनि उनीहरुमध्ये को आईजीपी हुन्छ भन्ने टुंगो लागेको छैन ।

उनीहरूको ३० वर्षे सेवा अवधि आउँदो असारमा सकिंदैछ । तीनमध्ये पनि ज्ञवाली र लम्सालको नाम चर्चामा छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।

दुवै जना २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७ औंँ प्रहरी महानिरीक्षक बन्नेछन् । सरकारले सोमबार या मंगलबारसम्म नयाँ महानिरीक्षकको नाम टुंगो लगाउने तयारी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्