कोरोना भाइरसबाट चीनको वुहानमा अमेरिकी नागरिकको मृत्यु

Machchapuchchre

बेइजिङ । कोरोना भाइरसको महामारीका कारण अमेरिकी नागरिककाे मृत्यु भएकाे छ। चीनको वुहान शहरमा बसोबास गर्ने ती ६० वर्षे अमेरिकी नागरिकको त्यहाँको जिन्यिन्तान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेइजिङस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको परिवारको गोपनियतालाई सम्मान गर्दै उनीबारे थप विवरण भने दूतावासले सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको लक्षण देखा परेपछि उनलाई अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

त्यस्तै, वुहान शहरमै अर्का जापानी नागरिकको समेत मृत्यु भएको छ । जापानको विदेशमन्त्रालयलले ६० वर्ष उमेर समूहमा रहेका उनको कहिले मृत्यु भएको भन्नेबारे केही खुलाएको छैन । निमोनियाबाट पीडित ती जापानी नागरिकको पनि कोरोना भाइरसबाट नै मृत्यु भएको आशंका गरिएपनि उनीमा भाइरस देखिएको पुष्टि नभएको बताइएको छ ।

महामारीको रुप लिएको कोरोना भाइरसबाट चीनमा शनिबार ८६ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या ७२२ पुगेको छ । त्यस्तै भाइरसको संक्रमण देखिएका मानिसहरुको सङ्ख्या पनि बढेको छ ।

शनिबार थप ३ हजार ३ सय ९९ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । यससँगै कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या चीनमा ३४ हजार ५ सय ५६ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्