‘डाक्टरलेझैं बैंकरले पनि हरेक दिन पढ्नुपर्छ’ बैंकर उमङ्ग शर्मासँगको अन्तर्वार्ता

Machchapuchchre
काठमाडौँ । कर्पोरेट क्षेत्रमा रहेर काम गरिरहनुभएका उर्जाशील महिलाहरुको सम्मानार्थ कार्यक्रम हो, ‘कर्पोरेट ओमन’ । आजको अंकमा हामीले लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गरिरहनुभएकी हाल सिटिजन्स बैंक लिमिटेडकि प्रवक्ता एवम् प्रमुख प्रशासकिय अधिकृत उमंग शर्मालाई प्रस्तुत गर्दैछौं । प्रस्तुत छ अर्थसरोकारकर्मी मुना तामाङले उमंग शर्मासँग गर्नुभएको कुराकानी ।
१. नेपाली कर्पोरेट क्षेत्रमा वा बैंकिङ क्षेत्रमा महिलाहरुका लागि सम्भावना र चुनौती के छन् ?
महिलाहरुलाई चुनौतीभन्दा अवसर बढी छ । हामी कर्मचारी भर्ना प्रक्रियामा पनि हेर्छौं, पुरुषको तुलनामा महिलाहरु नै बढी आउनुहुन्छ । चुनौती पनि नभएका होइनन्, तर बैंकिङ क्षेत्रमा करियर सुरक्षित हुने हुनाले महिलाहरुका लागि प्रशस्तै सम्भावना भएको क्षेत्र हो यो । ‘राम्रो काम गरें भने यहाँ पुग्छु’ भन्ने निश्चित ‘कर्पोरेट लेडर’ छ । हुन त पुरुषहरुलाई पनि यो क्षेत्रमा सम्भावना नै सम्भावना छ । तर आज हामी ‘कर्पोरेट ओमन’मा भएकाले महिलाहरुको स्थितिकै कुरा गरौं । त्यसैले महिलाहरुको स्थिति भन्नुपर्दा नेपाली बैंकिङ क्षेत्रमा सम्भावना नै सम्भावना छ । चुनौतीको तुलनामा अवसर धेरै छ ।
२. नेपाली बैंकिङ क्षेत्रमा महिलाहरु माथिल्लो तहमा धेरै पुगेको देखिंदैन, अवसर नपाएर हो कि के हो ?
मैले अघि नै भनें, ‘अवसर छ।’ अवसर नभएर होइन । तर माथिल्लो तहमा थोरै महिला पुगेकोचाहिं हो । अहिलेकै स्थिति हेर्ने हो भने पनि बैंकिङ क्षेत्रमा महिला सीइओ एक जनामात्र महिला । तर योचाहिं महिलाहरुले काम नगरेर भन्दा पनि हाम्रो सामाजिक संरचनाको कारण पनि हो । पुरुषहरु घरमा जति सहयोगी हुनुहुन्छ, महिलाहरुलाई झन् सजिलो हुने हो । आज बैंकिङ क्षेत्रमा करिव ४० प्रतिशत महिला कर्मचारी हुनुहुन्छ । तर उपल्लो तहमा थोरै महिला कर्मचारी नहुनुभएकोचाहिं हाम्रो सामाजिक संरचना नै पुरुष केन्द्रित भएर पनि हो जस्तो लाग्छ ।
३. महिलाहरु बैंकमा लामो समय टिक्दैनन भन्ने कुरा यहि भएर हो त ?
टिक्दैनन भन्ने होइन । नटिक्ने भन्ने होइन, हुँदैन । तर कति छिटो को माथि जान्छ भन्ने हो । महिलाहरु नटिक्ने होइन, तर माथि जान अलि समय लागेको चाहिं देखिएको छ । यसको मुख्य कारण मैले अघि पनि भनें हाम्रो सामाजिक संरचना नै हो ।
४. कतिपय बैंकहरुमा निकै अबेरसम्म महिलाहरुलाई काम लगाएको देखिएको छ । यहि कारणले महिलाहरुको घरबार नै बिग्रिन थाल्यो भन्ने आरोप पनि छ नि ?
समय व्यवस्थापन गर्न सक्नुपर्छ । समय व्यवस्थापन सबैको समस्या हो । रातीसम्म काम गर्न पनि बैंकले निश्चित व्यवस्था गरिदिएको हुन्छ । तर यथार्थ यो चाहिं पक्कै हो कि बैंकको काम अलि लामोचाहिं हुन्छ । ५ बजे अफिस बन्द हुन्छ, तर साढे ५ बजे घर पुगेको बिरलै दिन होलान् । बैंकको काममा अलि बढी समय दिनुचाहिं पर्छ । रातीसम्म काम गर्नेहरुका लागि घर पुर्याउने व्यवस्था पनि गरेको हुन्छ बैंकले । त्यसैले यहि कारण घरबार नै बिग्रियो वा बिग्रिन्छ भन्ने मलाई लाग्दैन । किनकि घरकाले पनि यो समस्या बुझेको हुनुपर्छ ।
५. बैंकले गर्ववति विदा वा सुत्केरी विदा कम दिएका कारण समस्या छ भन्ने कुरा छ नि ?
गर्ववति विदाकै कुरा गर्ने हो भने श्रम ऐनले स्पष्टसँग गर्ववति विदाको व्यवस्था गरेको छ । ६० दिन सामान्य विदा र ३० दिन थप विदा दिने व्यवस्था छ । ९० दिनसम्म विदा पाउने व्यवस्था श्रम ऐनमै स्पष्ट छ । हाम्रो सिटिजन्स बैंकमा त झन् यो श्रम ऐनको पूर्ण पालना गरी कर्मचारी विनियमावली बनेको छ । त्यो विनियमावली नेपाल राष्ट्र बैंकले पनि पास गरेको छ । त्यसैले सुत्केरी बिदा भएन भन्नु गलत हो । अझ हामी त ‘पेट्रनीटि लिभ’ भनेर पुरुषहरुलाईसमेत बिदा दिने गरेका छौं ।
६. तपाईंको करियरको सुरुवातीका दिनहरुबारे बताईदिनुहोस् न । यहाँसम्म आइपुग्दा सिकेको मुलभूत कुरा ?
मैले मेनेजमेन्ट ट्रेनीको रुपमा मेरो करियर सुरु गरेको हुँ । पहिला अर्को बैंकमा थिएँ । पछिलो साढे १२ बर्षदेखि सिटिजन्स बैंकमा छु । यहाँसम्म आइपुइग्दा धेरै कुरा सिकिएको छ । हरेक दिन पढ्नुपर्छ । नयाँ-नयाँ नियम आउँछ, अपडेट हुनुपर्छ । डाक्टरले जस्तै हामीले पनि हरेक दिन पढ्नुपर्छ । पढेर अपडेट भइयो, मेहेनत गरियो र समय व्यवस्थापन गरियो भने सफलता टाढा छैन ।
७. करियरमा परिवारको सहयोग कतिको भयो ?
एकदम । परिवारको सहयोग नभएको भए म यहाँसम्म आइपुग्ने थिइन । मेरा त अझ दुई बच्चा पनि छन् । म संयुक्त परिवारमा रहेकाले मलाई सजिलो भएको छ । तर परिवारको सहयोग नभएको भए मेरो करियरको यात्रा यहाँसम्म आइपुग्ने थिइन ।
८. तपाईंजस्तै बैंकिङमा करियर बनाउन खोज्नेहरुलाई के भन्नुहुन्छ ?
मेहेनत गर्नुपर्यो । परिवारलाई पनि समय दिनुपर्यो । परिवार पनि महत्वपूर्ण विषय हो । हरेक दिन पढ्नुहोस्, अपडेट हुनुहोस् । यसरी अगाडी बढ्नुभयो भने सफलता टाढा छैन ।
९. धेरै जनाको अन्तर्वार्तामा फेल भएँ भन्ने गुनासो छ । तपाईंका केहि टिप्स ?
अन्तर्वार्तामा हेर्ने भनेको उसले / उनले कसरी आफुलाई प्रस्तुत गर्छ / गर्छिन् भन्ने हो । अन्तर्वार्तामा कोर बैंकिङभन्दा पनि समसामयिक विषयमा बुझेर आउनुहोस् । अन्तर्वार्तामा आउँदा आफुले काम गर्न खोजेको संस्थाको बारेमा बुझेर आउनुपर्यो । वेवसाइट हेरेर आउनुपर्यो । संस्थाका बारेमा साधारण कुराहरु बुझेर जानुहोस् । पर्सनालीटिलाई विशेष ध्यान दिनुहोस् ।
१०. अन्त्यमा हाम्रा समग्र महिला दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ? 
मेहेनत गर्नुहोस् । कामलाई प्राथमिकता दिनुहोस् । मेरो श्रीमानले कमाउनुभएको छ, मेरो काम पकेट पैसाका लागि मात्र हो भन्ने भ्रम नराख्नुहोस् । करियर बनाउँछु भनेर काम गर्नुहोस् । मेहेनतका साथ काम गरे सफलता मिल्छ नै ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्