काठमाडौं। गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले पदबाट राजीनामा दिएका छन् । सचिव राईले माघ २० गतेदेखि लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष राजीनामा बुझाएका हुन् । २२ माघ २०७१ मा सचिवमा बढुवा भएका राई आगामी २२ गतेदेखि पदावधि सकिएर अनिवार्य अवकाशमा जाँदै छन् ।
हाल कार्यान्वयनमा रहेको निजामति सेवा ऐन २०४९ मा नेपाल सरकारको सचिव (विशिष्ठ श्रेणीका कर्मचारी)को पदावधि ५ वर्ष तोकिएको छ । निजामति सेवा ऐन २०४९ को दफा १७ मा सचिवको पदावधि ५ वर्षको हुने व्यवस्था गरिएको छ ।
गृहसचिव राईले ५ वर्षे पदावधि पुग्नुभन्दा २ दिन अगाडिदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन् । पदावधि बढ्नुभन्दा अगाडि नै राजीनामा दिए पेन्सन बढ्ने व्यवस्थाअनुसार बढेको पेन्सन पाउने उद्देश्यले राईले २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । २०४९ अगाडि नै निजामति सेवा प्रवेश गरेका राईले तत्कालीन नेपाल निजामति सेवा ऐन, २०१३ अनुसार बृत्ति–विकास र निवृत्तिभरण पाउने छन् ।
तत्कालीन नेपाल निजामति सेवा ऐन, २०१३ मा राजीनामा दिएका कर्मचारीको पेन्सन बढ्ने व्यवस्था थियो । गृह मन्त्रालय स्रोतका अनुसार राजीनामा दिएका सचिव राईको आइतबार बिदाई गरिने कार्यक्रम छ । राईको बिदाईसँगै गृह मन्त्रालय आउनका लागि अन्य सचिवहरुको लबिङ समेत शुरु भएको छ । गृह मन्त्रालयमा आउनका लागि मुख्यतः २ जना सचिव यादव प्रसाद कोइराला र महेश्वर न्यौपानेको दौडधूप चलेको कर्मचारीहरु बताउँछन् ।