स्ववियु चुनावबारे अखिल क्रान्तिकारीले बुझायो त्रिवि उपकुलपतीलाई दुई बुँदे ज्ञापन

Machchapuchchre

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई लिएर अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्तोलालाई मागपत्र बुझाएको छ । उसले आफ्नो संगठनमाथि अघोषित रुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनावको औचित्य नभएको समेत बताएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका क्षेत्रीय समन्वय समिति अन्तरगत त्रिवि जिल्ला समितिले मागपत्र बुझाएको हो । त्रिवि जिल्ला समितिका अध्यक्ष मदन चापागाईँको नेतृत्वमा गएको विद्यार्थीको एक टोलीले मंगलबार दुईबुँदे मागपत्र बुझाएको छ ।

त्रिविले घोषणा गरेका स्ववियु चुनावबारे अखिल क्रान्तिकारीले ध्यानाकर्षण भएको बताएको छ । आफ्नो संगठनमाथि सरकारले अघोषित रुपमा सरकारले प्रतिबन्ध लगाएर घोषणा गरिएको चुनावको कुनै औचित्य नरहेको समेत अखिल क्रान्तिकारीले बताएको छ ।

मागपत्रमा भनिएको छ, “गिरफ्तार गरिएका संगठनका नेता–कार्यकर्तामाथि लगाइएका झुटा मुद्धा खारेज गरी रिहाई गर्नुपर्ने ।” त्यसैगरी अखिल क्रान्तिकारीले साथै संगठनका शान्तिपूर्ण गतिविधिमाथिको हस्तक्षेप बन्द गरिनुपर्ने माग राखेको छ । आफ्नो संगठनमाथि प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनाव बहिस्कार गर्न बाध्य हुने अखिल क्रान्तिकारीले चेतवनी समेत विज्ञप्तिमा उल्लेख ।

अखिल क्रान्तिकारीको मागपत्र बुझ्दै उपकुलपति बास्तोलाले चुनावमा भाग लिने वातावरण बनाउन आफूले पहल गर्ने बताएका थिए । उनले अखिल क्रान्तिकारी चुनावमा आए शान्तिपूर्ण गतिविधिमाथि हस्तक्षेप र नेता, कार्यकर्ताको गिरफ्तारी नगर्नेबारे सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर समेत गरेका थिए । त्रिविले फागुन १४ गते स्ववियु चुनावको घोषणा गरेको छ ।

यस्तो छ मागपत्र
“हाम्रो गौरवशाली संगठन अखिल क्रान्तिकारी राष्ट्रियता, जनतन्त्र र जनजिवीकाका सवालमा निरन्तर संघर्षरत रहेको व्यहोरा सर्वविदित नै छ । शैक्षिक प्रणालीमा रुपान्तरणका अतिरिक्त नेपाली व्यवस्था पविर्तनका लागि समेत हाम्रो संगठनले गौरवपूर्ण बलिदान गर्दै इतिहास कायम गरेको विगत समेत स्मरण गराउन चााहन्छौं । हाल राष्ट्रियता र भौगोलिक अखण्डतामाथि समेत भारतीय साम्राज्यवादको ठाडो हस्तक्षेप भइरेको छ, राष्ट्रियताको सवाल अत्यन्तै संकटग्रस्त छ ।

वर्तमान सत्ताद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक सर्वोच्चता, मानव अधिकार र व्यक्तिको गोपनियताको आधारभूत हक अधिकार समेत संकुचित गर्ने काम भइरहेको छ । जनताको आलोचनात्मक चेतनामाथि फासिवादीशैलीमा नियन्त्रण कायम गर्ने षड्यन्त्र भइरहेको छ । आम नागरिकको अपेक्षा एकातिर तर सरकारको काम अर्कोतिर भइरहेको छ । यसप्रकारको सरकारी रबैयाप्रति खबरदारीसहित हाम्रो संगठन संघर्ष गरिरहेको छ ।

सत्ताको मूल चरित्र दलाल पुँजिवादी प्रकृतिको भएको कुरामा आज हरेक बुद्धिजीवी, राजनीतिकर्मीलगायत आम नागरिक एकमत छन् । सत्ताका सबै उपरिसंरचनाहरु दलालीकरण, भ्रष्टीकरण र माफियाकरणका कारण थिलोथिलो भएका छन् । सरकारका कतिपय नीतिगत भ्रष्टाचार र आर्थिक भ्रष्टाचारका ठूलाठूला घटना तथा काण्डहरुले जनताको आक्रोस दिनादिन बढिरहेको छ ।

सरकारले भ्रष्टाचकार नियन्त्रण गर्ने, दलालीकरणको अन्त्य गर्ने हरेक क्षेत्रमा मौलाइरहेको विचौलिया प्रवृतिको अन्त्य गर्ने र आर्थिक सुशासन कामय गरी जनअपेक्षाको सम्बोधन गर्नुको सट्टा परिवर्तनका लागि संघर्ष गर्ने शक्ति नेपाल कम्युनिस्ट पार्टीमाथिको कथित प्रतिबन्ध लगाएर सरकारका गलत क्रियाकलापको विरोधका आवाजहरुमाथि दमन गरिरहेको छ । यस प्रवृतिलाई समान्य घटना मान्न सकिँदैन ।

नेपाल कम्युनिस्ट पार्टीको वैज्ञानिक समाजवादको लक्ष्यप्रति समर्थन गरेकै आधारमा आज हाम्रो संगठनमाथि समेत अघोषित प्रतिबन्ध लगाइएको छ । सरकारले संगठनका नेता, कार्यकर्तामाथि गैरन्यायीक गिरफ्तारी, धरपकड जारी छ र संगठनका सामान्य गतिविधि पनि गर्न दिइएको छैन ।

नेता, कार्यकर्ता मात्रै होइन हाम्रो संगठनका समर्थक, शुभचिन्तक विद्यार्थीहरु पनि क्याम्पस, कलेज र विश्वविद्यालयमा गएर नियमित अध्ययन गर्न सक्ने वातावरण छैन । यस्तो परिस्थितिमा त्रिभुवन विश्वविद्यालयद्वारा आगामी फागुन १४ गते स्ववियु निर्वाचन घोषणा गरेको छ ।

स्वतन्त्र विद्यार्थी यूनियनको गरिमा, महत्व र आवश्यकताप्रति हामी दृढ छौँ । तर, हाम्रो संगठनलाई खुला गतिविधि गर्न समेत राज्यले प्रतिबन्ध लगाएर गरिने स्ववियु निर्वाचनको कुनै औचित्य छैन । स्ववियु निर्वाचनको विषयमा संगठनको तर्फबाट निम्न बमोजिमको माग राखी यो मागपत्र पेश गर्दछौँ ।

१. सरकारद्वारा हाम्रो संगठनमाथि लगाइएको अघोषित प्रतिबन्ध हटाउन त्रिविले निर्णयक पहल गरी स्ववियु निर्वाचनमा निर्वाध ढंगले भाग लिने वातावरण बनाउनु पर्ने ।

२. गिरफ्तार गरिएका संगठनका नेता–कार्यकर्तामाथि लगाइएका झुटा मुद्धा खारेज गरी रिहाई गर्नुपर्ने । साथै संगठनका शान्तिपूर्ण गतिविधिमाथिको हस्तक्षेप बन्द गरिनुपर्ने । अन्त्यमा, उपर्युक्त मागहरु पूरा गरी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन गराउन माग गर्दछौँ । अन्यथा चरणबद्ध संघर्षका कार्यक्रममार्फत चुनाव खारेज गर्न हाम्रो संगठन बाध्य हुनेछ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्