सरकारद्वारा २० सह–सचिवको दरबन्दी थप, १९ पहाडी जिल्लामा एसपी खटाइने

Machchapuchchre

काठमाडौं । सरकारले २० जना सह–सचिवको दरबन्दी थप गरेको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप भएको हो । सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सह–सचिवको नेतृत्व रहनेछ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले दरबन्दी थप गर्ने निर्णय भएको बताए । उनले भने, ‘प्रस्ताव स्वीकृत भएको सुन्यौं तर, हामी कहाँ फाइल आइपुगिसकेको छैन ।’ गृहका अनुसार यो निर्णयसँगै पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा सह–सचिव तहका कर्मचारी सीडीओ हुनेछन् ।

हाल ती जिल्लामा उप–सचिव प्रमुख जिल्ला अधिकारी र प्रहरीतर्फ नायब उपरीक्षक (डीएसपी) प्रमुख रहँदै आएका छन् । यसअघि ४२ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सह–सचिव र ३५ जिल्लामा उप–सचिवको दरबन्दी थियो । जनसंख्या र दुई निर्वाचन क्षेत्र भएको आधारमा गृहले सह–सचिव खटाउने प्रस्ताव अघि बढाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्