काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

Machchapuchchre

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । उनले आ–आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको चौमासिक समीक्षा बैठकलाई  सम्बोधन गर्दै ओलीले गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत जफत गर्न निर्देशन दिए ।

‘ठेक्का दिने काम सार्वजनिक ऐनको दफा ५९ (८) बमोजिम भएको छ कि छैन हेर्नुस्,’ प्रधानमन्त्री ओलीको निर्देशन उद्धृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘ठेक्कापट्टामा एउटैले धेरै ओगट्ने प्रवृत्ति छ, सामर्थ्यकै अभाव भएकाले पनि एक–दुईवटाको काम देखाएर ठेक्का ओगट्न भएन । यो विषयमा अध्ययन गर्नुस् ।’ ऐनको उक्त दफामा सार्वजनिक निकायसँग खरिद सम्झौता गर्नेले सम्झौताबमोजिम काम सुरु नगरेमा, बीचैमा छोडेमा या सम्झौताअनुसार कामको प्रगति नभएमा ठेकेदारको जमानत जफत गर्न सकिने व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले सधैं यही स्थितिलाई निरन्तरता दिन नसकिने बताउँदै ठेकेदारलाई दिइँदै आएको २० प्रतिशत परिचालन खर्चका बारेमा पनि प्रश्न उठाएका छन् । ‘यो अनावश्यक कुरा हो, यो विकासका नामको तमासा हो,’ उनले भने, ‘यसरी दिनु आवश्यक छैन । कुन ठेकेदारले कतिवटा काम फ्लप खुवाएको छ भन्ने पनि हेर्नुपर्छ । ठेकेदारको क्षमताको प्रश्नलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ ।’

यस्तै उनले मन्त्रालयहरूले विभिन्न नाममा वितरण गरेका अनुदानका बारेमा पनि प्रश्न उठाएका छन् । ‘तपाईंहरूले कहाँ–कहाँ के–के शीर्षकमा अनुदान दिनुभएको छ, हरेक मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा १५ दिनभित्र विवरण पठाउनुस्,’ उनले भने, ‘तिनको के–कति सदुपयोग भएको छ/छैन, कसले पाएको छ, के रोजगारी दियो, म अनुगमनमा मान्छे पठाउँछु ।’

प्रधानमन्त्री ओलीले ‘बग्गी एकातिर घोडा अर्कोतिर’ जस्तो नीति एकातिर, बजेट अर्कोतिर हुने परम्परा अन्त्य गर्नुपर्ने बताउँदै अब घोडा अघिअघि र बग्गी पछिपछि गरेर विकास निर्माणको काम सम्पन्न गरिने बताए । साथै उनले नवनियुक्त मन्त्रीहरूलाई आफ्ना मन्त्रालयको कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्