तटस्थ र निष्पक्ष बन्न दत्तचित्त भएर लाग्नेछु : नवनिर्वाचित सभामुख सापकोटा

Machchapuchchre

काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफू तटस्थ र निष्पक्ष सभामुख बन्न दत्तचित्त भएर निरन्तर लाग्ने बाचा गरेका छन् । सर्वसम्मतिबाट सभामुख चयन भएलगत्तै संसद परिसरमा संवाददाताहरुसँग कुरा गर्दै सापकोटाले आफूलाई निर्वाचित गर्ने सबै पार्टीलाई धन्यवाद दिए ।

‘म हाम्रो पार्टी तथा कांग्रेस र संघीय समाजवादीलाई पनि धन्यवाद दिन्छु,’ उनले भने। संसदमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले यसअघिका सभामुख तटस्थ नभएको भनेर टिप्पणी गरेको तर्फ गरिएको प्रश्नमा उनले भने, ‘मीनेन्द्रजीले भन्नु भएको मूल्यमान्यताको कुरा हो। म तटस्थ बन्न दत्तचित्त छु।’

उनले सपथको प्रक्रिया बाँकी रहेको भन्दै थप टिप्पणी गर्न मानेनन्। सर्वोच्चमा उनीविरुद्ध परेको रिटका विषयमा पनि उनले टिप्पणी गर्न मानेनन्। ‘यसबारे पछि कुरा गरौंला’ उनले भने।

द्वन्द्वकालमा अर्जुन लामाको ह’त्या आरोप लागेको भन्दै सापकोटालाई सभामुख नबनाउन माग गर्दै अधिवक्ता दीनेश त्रिपाठीले दायर गरेको रिटमाथि सर्वोच्चले आइतबार नै पेशी तोकेको थियो। तर, इजलास तोकिएका न्यायाधीश हरि फूँयालले यसअघि सापकोटाविरुद्ध सुशील प्याकुरेलले दायर गरेको रिटमा बहस गरेका कारण हेर्न नमिलेकाले सुनुवाई रोकिएको थियो।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निवार्चित गरेको हो । नेकपाका उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

आइतबार प्रतिनिधिसभामा नेपाली कँंग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गर्न सापकोटालाई शुभकामना दिएका थिए । जवाफमा उनले तटस्थ भएर संसदको गरिमा कायम राख्ने प्रतिवद्धता जनाएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्