उर्जामन्त्री पुन र चीनको युनान प्रान्तका गर्भनरबीच भेटवार्ता

Machchapuchchre

काठमाडौँ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो ।

मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी जिनपिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे । ‘नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, प्रशासनिक र जनस्तरको सम्बन्ध छ । यसप्रकारका उच्चस्तरीय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणको लागि प्रोत्साहन समेत गर्नेछ भन्ने मेरो विश्वास छ,’ मन्त्री पुनलाई उद्धृत गर्दै उनको सचिवालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

उनले तामाकोशी तेस्रो जलविद्युत आयोजनामा युनान सरकारको लगानी रहेको भन्दै त्यसको लागि आभार व्यक्त गरे । नेपाल भ्रमणको क्रममा आईतबार काठमाडौं आएका गर्भनर चेङगफा नेतृत्वको ८ सदस्यीय प्रतिनिधिमण्डलले उर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो । छलफलमा उर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो ।

मन्त्री पुनले जलविद्युतको क्षेत्रमा सरकारले उदार नीति लिएको भन्दै नेपालको जलविद्युतमा थप लगानीका लागि पहल गरिदिन आग्रह समेत गरेका थिए । बङगलादेश र भारतमा विद्युत व्यापारको लागि ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाई थियो । भेटमा युनान प्रान्तका गर्भनर रुएन चेङगफाले युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधी र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्