हङकङमा प्रजातन्त्रवादीको ऐतिहासिक जीत, ४ सय ५२ मध्ये ३ सय ९४ सिटमा विजयी

Machchapuchchre

काठमाडौं । हङकङको निर्वाचनमा प्रजातन्त्रवादी पक्षले चीन समर्थक सत्ता विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । प्रजातन्त्रवादी समूहले १८ जिल्ला परिषदका ४ सय ५२ सिटमध्ये ३ सय ९४ सिटमा विजय हासिल गरेको छ भने चीन निकट वर्तमान सत्ता समर्थक ५८ सिटमा खुम्चिएको छ । निर्वाचनले बिगत ६ महिनादेखि चीनको बढ्दो हस्तक्षेपबिरुद्ध चलेको आन्दोलनको मागलाई वैधानिकता दिलाएको छ ।

चार वर्ष अघिको निर्वाचनमा कुल सीटमध्ये १०० सीटमा मात्र जीत हाता पारेको लोकतन्त्र पक्षले यसपटक चीनसमर्थक सत्तालाई धक्का दिएको हो । चीनको प्रत्यक्ष साथ र सहयोग रहेका अधिकांश उम्मेदवारहरुले चुनाव हारेका छन् । ६ महिना लामो राजनीतिक अस्थिरतापछि भएको चुनावले बेइजिङस्थित कम्युनिस्ट सरकारलाई कडा सन्देश दिएको छ ।

यो चुनाव हङकङको राजनीतिक शक्ति समिकरणमा ठूलो भूमिका खेल्ने नभइ स्थानीय कार्यहरुमा सक्रिय हुने निकाय हो तरपनि यसले चीन र उ समर्थक सरकारबिरुद्ध ठूलो राजनीतिक सन्देश भने प्रवाह गरेको छ । हङकङका चर्चित प्रजातन्त्रवादी युवा नेता जोशुआ वोंग, सरकारले उनलाई चीनको विरोध गरेकोमा जेल सजाए दिइनुका साथै चुनावमा उठ्नसमेत अगोग्य ठहर्‍याइएको थियो ।

चीन समर्थक सरकारले हङकङका चर्चित युवा जोशुआ वोंगलगायतका प्रजातन्त्रबादी युवाहरुलाई चुनावमा उम्मेदवारी दिन प्रतिबन्ध लगाएको थियो भने आफ्नो ठूलो शक्ति स्थानीय चुनाव जित्न खर्चेको थियो । चीनको इशारामा हङकङकी प्रमुख कार्यकारी क्यारी ल्याम र उनको प्रशासनले सुपुर्दगी विधेयक ल्याएसंगै गत ३१ मार्चबमा हङकङमा आन्दोलन जारी छ ।

आन्दोलनको नजरअन्दाज गर्दै कार्यकारी प्रमुख ल्यामले जसरी पनि विधेयक पारित गर्ने अडान लिएपछि हङकङका स्थानीय आन्दोलनमा उत्रेका थिए । हङकङबासीले चुनावमा लोकतन्त्रवादीलाई मत दिएर चिनियाँ शैलीको अभ्यास हङकङमा अस्विकार्य रहेको सन्देश दिए । आन्दोलनको बढ्दो लोकप्रियतासँगै ल्यामले गत जुन १५ मा विधेयक खारेज भएको घोषणा गरेपनि आन्दोलन रोकिएको छैन । उदार लोकतन्त्रको अभ्यास गरिरहेको हङकङमा चीनले एकपछि अर्को नियन्त्रणको प्रयास थालेसँगै लगातार आन्दोलन चर्किएको हो ।

सन् २०४७ सम्म सुरक्षा र विदेश नीतिमा वाह्य हस्तक्षेप नगर्ने सहमति जनाएको चीनको बढ्दो हस्तक्षेपबाट आजति हङकङबासीले चुनावमा लोकतन्त्रवादीलाई मत दिएर चिनियाँ शैलीको अभ्यास हङकङमा अस्विकार्य रहेको सन्देश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले टिप्पणी गरेका छन् । चीन समर्थक सरकारले लोकतन्त्रवादीहरुको आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको थियो । पछिल्लो समय आन्दोलनकारीहरुलाई मनोवैज्ञानिक त्रास फैलाउन चीन समर्थक सरकारले चिनियाँ कम्युनिष्ट पार्टी अन्तरगतको जनमुक्ति सेनालाई तैनाथ गरेको थियो ।

हङकङको सुरक्षा अवस्था नियन्त्रणमै रहेको अबस्थामा स्वायत्त क्षेत्रमा चिनियाँ सेनाको तैनाथीलाई प्रजातन्त्रवादी समूहले बिरोध गरेका थिए । चीनले भने अधिकांस स्थानीयवासीको समर्थन रहको आन्दोलनलाई ‘हिंसात्मक जत्था’, ‘अराजक भीड’ तथा ‘प्रायोजित भीड’ जस्ता आरोप लगाउँदै आएको छ । चीनले अहिलेपनि जनआन्दोलनलाई आतंकवादी गतिबिधि, पश्चिमा शक्तिहरुको उक्सावट, विदेशी गुप्तचर नियोगहरुबाट संचालित अस्थिरता, बिखण्डनकारी सानो झुण्डको तमासा भन्दै भड्काउने अभिव्यक्ति दिइरहेको छ ।

चुनावी परिणामले चिनियाँ बढ्दो हस्तक्षेपलाई आमन्त्रण गरेको सरकारलाई रक्षात्मक अबस्थामा पुर्‍याइदिएको छ भने सरकार विरोधी आन्दोलनकारीले आफ्ना मागहरू जनताले अनुमोदन गरेको रुपमा अथ्र्याइएको छ । पहिलो पटक मतदान गर्ने युवाहरूको अधिकांश मत चीन समर्थक सरकारको विपक्षमा खसेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्