वैशाखमा लगानी सम्मेलन गर्ने प्रदेश ५ सरकारको तयारी

Machchapuchchre

काठमाडौं । प्रदेश ५ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका सन्दर्भमा सरकारले सोमबार प्रदेश सरकारका मन्त्रीहरु, निजी क्षेत्रका उद्योगी व्यवसायी, विदेशी दातृ निकाय, प्रदेश सभाका सांसदहरु र स्थानीय तहका मेयर र उपमेयरहरुसँग छलफल गरेको छ ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई लगानीमैत्री र निजी क्षेत्र मैत्री प्रदेश बनाउंदै स्वदेशी विदेशी लगानी भित्राउन बैसाखमा लगानी सम्मेलन गर्न थालेको जानकारी गराए । उनले प्रदेश ५ मा कृषि,उद्योग,पर्यटन,सेवा, खनिज,जडिबुटी लगायतका क्षेत्रमा लगानी गरेर लाभ लिन सकिने प्रचुर संभावना रहेको र प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउन नीतिगत सुधार गर्न तयार रहेको बताए ।

उनले बुद्ध जन्मस्थल लुम्बिनी र यससंग सम्बन्धित कपिलवस्तु तिलौराकोट लगायतका क्षेत्र र पहाडी क्षेत्रमा हिल स्टेशनहरुमा लगानी गर्न सकिने औंल्याए । प्रदेश सरकारले सस्तो जग्गाको उपलब्धता र पुर्वाधारहरु बनाएर लगानीकर्तालाई सहज वातावरण बनाउन तत्पर रहेको बताए ।

त्यस अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद शर्माले सातवटा प्रदेश मध्ये प्रदेश ५ ले पहिलोपटक आयोजना गर्ने लगानी सम्मेलनले समग्र मुलुकको समृद्धि र विकासमा योगदान पुग्ने बताए । उनले लगानी सम्मेलनमा तुलनात्मक लाभका क्षेत्र र राम्रो परियोजना छनोट गरेर मात्र लगानी गर्न प्रदेश सरकारले सघाउनुपर्ने सुझाव दिए ।

यूकेएडसीप परियोजनाका बलजित बोहराले सरकारी नीति नियमहरु नीज क्षेत्र र लगानीमैत्री बनाउन आग्रह गरे । लगानी बोर्डका परामर्शदाता अतुल गान्धीले सार्वजनिक निजी साझेदारी लगानीका सम्भावना,चुनौति र समस्याबारे जानकारी गराए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले प्रदेश ५ सरकारले योजनावद्ध आवधिक विकासको अवधारणा अनुसार अल्पकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गरेर काम गरिरहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्