समाजवादी पार्टीको तीन महिने संगठन सुदृढीकरण अभियान शुरु

Machchapuchchre

काठमाडौं ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको संघीयताले शोषित पीडितवर्गको उत्थान सम्भव नरहेको बताएका छन् ।

पार्टीले आजदेखि शुरु गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्राको अनुभूति गर्न नसक्ने बताए ।

उनले त्यसका लागि पुनः सङ्घर्षको आवश्यकता रहेकाले पार्टी संगठन विस्तार तथा सुदृढीकरणमा जुटेको बताए । अध्यक्ष यादवले भने, “मधेश आन्दोलनले अधिकारसम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधनस्रोतसम्पन्न प्रदेश मागेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।”

अबको तीन महिना पार्टीलाई दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले अभियानमा नजुट्ने नेता तथा कार्यकर्ताहरुको पार्टीले त्यहीअनुरुप मूल्याङ्कन गर्ने भन्दै सचेतसमेत गराए ।

पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गरे । उनले पार्टीभित्र रहेको गुट– उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान संगठन विस्तार तथा सुदृढीकरणमा जुट्न निर्देशन दिए ।

पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण संगठनलाई टोलटोलसम्म विस्तार गरेमात्र समुन्नत संघीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने उल्लेख गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्