उपसभामुखले राजीनामा दिनुहुन्छ, अरु चर्चा जरूरी छैन – नारायणकाजी श्रेष्ठ

Machchapuchchre

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन्।

सभामुख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै श्रेष्ठले उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने बताए। सभामुख चयनमा ढिलाइ भएको उनले स्वीकार गरे।

‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो। तर पनि हामी छिटै निष्कर्षमा पुर्‍याउँछौं,’ शनिबार नवलपरासीमा पत्रकारहरूसँग श्रेष्ठले भने, ‘माघ ६ गते संसद बैठक बोलाइएको छ। सूचना टाँसेर स्थगित गर्नु हुँदैन।’

उपसभामुखले राजीनामा दिने विश्वास पार्टीको रहेको श्रेष्ठले बताए। ‘उहाँले राजीनामा दिनुहुन्छ भन्ने विश्वास छ। उहाँ पार्टीबाट निर्वाचित भएरै उपसभामुख हुनुभएको हो। यसबारे थप चर्चा गर्नु जरूरी छैन,’ उनले भने। उनले सभामुख पूर्वएमाले वा पूर्वमाओवादी भन्नेमा केन्द्रीत नरहेको दाबी गरे। उपर्युक्त पात्र खोजीका लागि केही ढिलाइ भएको उनको भनाइ छ।

‘पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी इतिहास भइसक्यो। इतिहास लेख्दा मात्रै पूर्वएमाले र पूर्वमाओवादी लेख्छौं अब,’ उनले भने, ‘को व्यक्तिलाई बनाउने भन्ने छलफल मात्रै हो।’ उपसभामुख तुम्बाहाङ्फेले सभामुख उम्मेदवार चयन भएपछि मात्रै राजीनामा दिने बताएकी छन्। उनी पनि सभामुखका लागि आकांक्षी छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्