एमसीसी पास नगर्न ओली-प्रचण्डलाई विप्लवको चेतावनी

Machchapuchchre

काठमाडौँ । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित नगर्न चेतावनी दिएको छ । नेकपाले एमसीसी सदनबाट पारित गरिए व्यापक जनताको सहभागितामा देशव्यापी भन्डाफोर आन्दोलन गर्ने घोषणा गरेको छ । माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्ने जनाएको छ ।

बिहीबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार नेकपाले अमेरिकी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय र नेपाल सरकारलाई ज्ञापनपनपत्र बुझाउने भएको छ । यस्तै नेकपाले जनसङ्घर्षअन्तर्गत आस्थाका आधारमा बन्दी बनाइएका आफ्नो पार्टीका नेता – कार्यकर्ताहरूको तस्बिर प्रदर्शन गर्ने, महँगीविरुद्ध प्रदर्शन गर्ने र व्यापक जनसहभागितामा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने रहेको छ । नेकपाले माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने, माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र दिने, माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने जनाएको छ ।

त्यस्तै माघ १० गते बन्दीहरूको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन गर्ने, माघ १६ गते सहिद दिवस मनाउने, मघ १८ गते महँगीविरुद्ध प्रदर्शन गर्ने, माघ २० गते खुला सांस्कृतिक कार्यक्रम गर्ने र माघ २५ गते देशव्यापी अन्तरक्रिया गर्ने नेकपाले जनाएको छ । पछिल्लो समय ओली-प्रचण्डको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र काँग्रेससहितका संसदवादी दलहरु एमसीसीलाई पास गराउन लागिपरेका बेला विद्रोही नेकपाको यस्तो धारणा बाहिरिएको हो । सत्तारुढ नेकपाभित्रै पनि त्यसको बिरोध भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्