सभामुख चयनका लागि उपसभामुख तुम्बाहाम्फे बाधक – हरिबोल गजुरेल

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् ।

उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन।’

नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरु रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टीमा सभामुख बन्न सक्षम धेरै नेताहरु हुनुहुन्छ । जो पनि हुन सक्ने कुरा हो । जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ । जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न । त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होईन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ ।’

उनले सभामुखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको स्पष्ट पारे । उनले भने,‘पार्टीमा सभामुख को हुने ? भन्नेबारे बहस त चलिनै हाल्छ । यो स्वभाविक प्रक्रिया हो । धेरै नेता तथा कार्यकर्ता भएपछि चल्ने नै भयो । त्यसलाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन् । अहिले बहसपनि छ । निर्णय नहुञ्जेलसम्म बहस त भईनैरहन्छ । निर्णयमा पुग्नको लागि पनि बहस भैरहेको हो । के गर्दा राम्रो हुन्छ ? भन्ने कुरामा अहिले विभिन्न पक्षबाट आ–आफ्ना तर्कहरु राख्ने काम भैरहेको छ । मलाई लाग्छ उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको विषयमा हामीले बहस गर्नुको कुनै अर्थ छैन् । बहस गर्यो भने फेरि नेकपाले सभामुखपनि आफैं राख्न खोज्यो, उपसभामुख त आफ्नो छँदैछ भन्ने आरोप आउन सक्छ । यो कुरा तपाईहरुले पनि बुझेको हुनुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्