सशस्त्र विद्रोहमा मारिएका ५ हजारको मात्रै जिम्मा लिन्छु: प्रचण्ड

Machchapuchchre

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका छन् । बुधवार राजधानीमा आयोजित मागी महोत्सवमा प्रचण्डले आफूमाथि १७ हजार मान्छे मारेर आएको आरोप लाग्ने गरेको भन्दै त्यसको खण्डन गरे ।

‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको भन्ने गरिन्छ साथीहरु यो सत्य होइन’ प्रचण्डले भने,‘ हिजोका सामन्त राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन ।’

हिजोको युद्धमा भएका राम्रा नराम्रा कामको जिम्मेवारी आफूले लिने प्रचण्डको भनाइ थियो । ‘मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा कामका जिम्मेवारी म लिन्छु । म त्यसबाट भाग्ने कुरा हुनै सक्दैन । तर नगरेको कामाको दोष पनि मलाई थुपार्नु भएन’ प्रचण्डले भने ।

प्रचण्डले सम्बोधनको क्रममा राजपाका सांसद रेशम चौधरीलाई जेलमुक्त गरिने पनि बताए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसामा प्रहरी अधिकृतसहित ८ जनाको मृत्यु भएको थियो। जसमा चौधरीको संलग्नता रहेको भन्दै उनलाई अदालतले जेल पठाएको छ। उनको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन छ।

दाहालले भने चौधरीलाई झुटो मुद्दा लगाइएको बताए। उनले भने, ‘रेशमलाई प्रधानमन्त्रीको हैसियतले दिल्लीमा भेटेर तपाईंको कुरा के-के थियो भन्ने म थिएँ। डिल्लीबजारको खोरमा गएर भेट्ने पनि मै हो ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्