प्रधानमन्त्री बालेन्द्र शाह : ” ढुक्क हुनुहोस्, हामी यथाशक्य चाँडो जग्गा दिनेछौं “

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारले सुकुम्बासीहरुलाई प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेमा ढुक्क हुन आग्रह गरेका छन्। उनले शुक्रबार अपराह्न सामाजिक सञ्जालमार्फत बागमती नदी किनारका सुकुम्बासी वस्ती हरेक वर्ष वर्षायाममा डुबानमा पर्ने गरेकाले यसपालि त्यो अवस्था आउन नदिनका लागि आफूले पहल थालेको बताएका छन्। उनले थापाथली, गैरीगाउँ, मनोहरा लगायत काठमाडौंका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका सुकुम्बासीलाई बल प्रयोग नगरी मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको बताएका छन्। बालेनले वर्षायाममा सुमुम्बासी बस्ती डुबानमा परेका तस्वीरसहित भनेका छन्, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौंका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य! यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाँती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।’ बालेनले सुकुम्बासी समस्या समाधानका लागि आफूले चुनावका क्रममा गरेको वाचा र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र नभुलेको बताएका छन्। उनले वाचापत्र अनुसार नै सुकुम्बासीहरुको व्यवस्थापनका लागि आन्तरिक तयारी थालेको उल्लेख गरेका छन्।

‘मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौं। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौं,’ उनले भनेका छन्, ‘काठमाडौंका खोला किनार बाहेक अरू हजारौं परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौं सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौं, अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं। वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस्।’ उनले आफू अरु राजनीतिक दलजस्तो सुकुम्बासीका नाममा भोटको राजनीति गर्ने पक्षमा नरहेको उल्लेख गरेका छन्। अरु पार्टीले वर्षौंसम्म झुलाए पनि आफू सुकुम्बासीलाई डुबानमा पर्न दिने पक्षमा नरहेको उनको भनाइ छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्