ऊर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता, जलविद्युत लगायतका विषयमा छलफल

Machchapuchchre

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बताइएको छ। भेटमा उर्जामन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।

गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै भेटमा उर्जामन्त्री पुनले उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

उनले नेपाल चीनबीचको उर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे । चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौतमा भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाई थियो ।

मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियां ऋण सहयोगका लागी अर्थमन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतको ध्यानाकर्षण गरे । उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पुर्ण रुपमा सहजीकरण गरिरहेको बताए ।

भेटमा चिनियां राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको धारणा राखे । उनले चिनियाँ कामदारले व्यहोरिरहेका भिषाको समस्या, लगानीकर्ताका नितीगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा उर्जामन्त्रीले खेलेको भुमिकाको प्रशंसा व्यक्त गरे । साथै उर्जा संयन्त्रको बैठकका लागी आफुले सरोकारबाला निकायसंग छलफल गरेर बैठकको मिती चांडै टुंगो लगाउने जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्