Artharajniti ~ निकै समयपछि मंगलबार सिद्धार्थ बैंक र सानिमा बैंकको सेयर कारोबार बढ्यो। यी दुवै बैंकको दैनिक सेयर कारोबार करिब दुई महिनायताकै उच्च भयो। २०८२ कात्तिक १५ मा सिद्धार्थ बैंकको एकै दिन चार लाख ४३ हजार कित्ता सेयर किनबेच भयो। त्यसयता पहिलो पटक मंगलबार चार लाखभन्दा बढी कित्ता सेयर किनबेच भयो। त्यस्तै, सानिमा बैंकको पनि मंगलबार तीन लाख ७६ हजार कित्ता सेयर किनबेच भयो। यो २०८२ असोज ५ यताकै उच्च हो। सो समय सानिमा बैंकको एकै दिन चार लाख ८७ हजार कित्ता सेयर किनबेच भएको थियो।पछिल्लो समय यी दुई बैंकको सेयर कारोबार मात्र बढेको छैन, मूल्य पनि बढेको छ। बुधबार सबभन्दा धेरैले मूल्य बढ्ने वाणिज्य बैंकहरूमा सिद्धार्थ दोस्रो र सानिमा तेस्रो स्थानमा छ। पहिलो स्थानमा कृषि विकास बैंक रह्यो।
मंगलबार सिद्धार्थको सेयर मूल्य पनि करिब चार वर्षयताकै उच्चसम्म पुगेको छ। २०७८ फागुन ३० मा सिद्धार्थको उच्च मूल्य ४१८ रूपैयाँ थियो।मंगलबार ४१६ रूपैयाँसम्म मूल्य पुगे पनि बजार बन्द हुँदा ३८९ रूपैयाँ थियो। बुधबार प्रति कित्ता दुई रूपैयाँले बढेर तीन सय ९१ रूपैयाँमा अन्तिम कारोबार भएको छ।सिद्धार्थले पाँच वर्षयता औसत ९.३८ प्रतिशत लाभांश दिएको छ। गत आर्थिक वर्ष २०८१–८२ का पाँच प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश दिएको छ।सिद्धार्थको नाफा २०८२–८३ को पहिलो त्रैमासमा ३८ करोड रूपैयाँबाट घटेर ३२ करोड रूपैयाँ भएको छ। नाफा रकमका आधारमा सिद्धार्थ २० वाणिज्य बैंकमध्ये १६ औं स्थानमा छ। सिद्धार्थको निस्क्रिय कर्जा ३.८० प्रतिशत छ। वाणिज्य बैंकहरूमध्ये यो १६ औं स्थानमा छ। यसले सिद्धार्थको कर्जा गुणस्तर राम्रो नै रहेको देखाएको छ।
त्यस्तै सानिमा बैंकको सेयर बुधबार प्रति कित्ता सेयर तीन सय ३५ रूपैयाँ ५० पैसामा कारोबार भयो। यसको मूल्य गत असोजयताकै उच्च हो। गत असोज आठ गते सानिमाको मूल्य यही विन्दुमा थियोसानिमाले पाँच वर्षयता औसत ११.२४ प्रतिशत लाभांश दिएको छ। गत आर्थिक वर्ष २०८१–८२ का ७.३६ प्रतिशत नगद लाभांश दिएको छ। सानिमाको नाफा २०८२–३ को पहिलो त्रैमासमा नाफा ८.३६ प्रतिशतले बढेर ४३ करोड रूपैयाँ पुगेको छ। धेरै वाणिज्य बैंकको नाफा घट्दा सानिमा नाफा बढ्नेमध्ये दोस्रो स्थानमा छ। सानिमाको नाफा १३ प्रतिशतले बढेको हो। नाफा रकमको आधारमा यो १३ औं स्थानमा छ। सानिमाको निस्क्रिय कर्जा ३.९१ प्रतिशत छ। वाणिज्य बैंकहरूमध्ये यो १४ औं स्थानमा छ।



