होवलदार युनुस एण्ड कम्पनीले माग्यो बैंकहरुसँग प्रष्टीकरण

Machchapuchchre Bank

Artharajniti  ~  बंगलादेशी कम्पनी होवलदार युनुस एण्ड कम्पनीले फेला पारेको कैफियतमाथि बैंक तथा वित्तीय संस्थाको राय माग्न काम थालेको छ। केही बैंकहरुसँग उसले राय माग्न काम सकेको छ भने केहीको बाँकी छ। उसले सुरुमा निकालेको कैफियतभन्दा अहिले केही कम देखिएको छ। खराब कर्जाको अंक नै घटेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ। होवलदारले प्रारम्भिक प्रतिवेदनका सम्बन्धमा राष्ट्र बैंकमा ब्रिफिङ गरिसकेको छ। गत मंसिरमा स्थलगत सुपरीवेक्षण सकेको कम्पनीले प्रतिवेदन बुझाउनु अघि बैंकहरुको कैफियत देखाउँदै उनीहरुलाई सुधारको योजना माग्न थालेको हो। होवलदारले बैंकहरुलाई सुधारको बुँदागत योजना पठाउन भनेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए।

‘उसले ऋण अनुगमनमा कमजोरी भएको बिषयलाई प्राथमिकतामा राखेको छ। त्यसलाई सुधार गर्दै जाने गरी योजना बनाएर पठाउन भनिएको छ,’ ती प्रमुख कार्यकारी अधिकृतले भने।उसले सुरुमा भनेको जस्तो अहिले खराब कर्जा अनुपात दोहोरो अंकमा देखिएको छैन। ‘बिस्तृत रुपमा हेरेपनि खराब ऋण नबढ्ने भन्ने हुँदैन। केही बढेको छ। तर अहिले दोहोरो अंकमा भने छैन’ स्रोतले भन्यो। नेपालमा नियमित अभ्यासमा रहेको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणलाई समेत खराब कर्जामा गणन गर्न खोजिएको थियो। अहिले त्यसलाई हटाइएको छ। बैंकहरुले आफूखुसी गरिरहेको ‘एभरग्रिनिङ’ लाई भने खराब कर्जामा समेट्न खोजिएको छ। ‘तर त्यो पनि कति संभव छ र’ स्रोतले भन्यो। कम्पनीले गरेको सम्पत्तिको गुणस्तर परीक्षणमा नबिल, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, ग्लोबल आइएमई, एनएमबि र राष्ट्रिय वाणिज्य बैंक छन्।कम्पनीले मंसिर अन्तिमतिर राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग बिफ्रिङ गर्दै बैंकहरुले उच्च मात्रामा एभरग्रिनिङ गरेको भेटिएको औल्याएको थियो।

उसले बैंकहरुले धितो लिएर कर्जा दिइसकेपछि त्यो पैसा कुन क्षेत्रमा प्रयोग भयो, सदुपयोग भए नभएको हेर्ने काम नहुँदा लोन डिफ्लटर बढ्न थालेको बताएको थियो। कम्पनीले बैंकहरुको स्थलगत हेरिसकेपछि उद्योग व्यवसायसम्म पुगेर अनुमगन गरेको थियो।‘बिग्रिएको ऋणलाई राम्रो बनाउन अरु-अरु शीर्षकमा थप ऋण प्रवाह भएको कुरा हामीले पनि भन्दै आएका हौं,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘होवलदारले त्यसलाई डकुमेन्टेड गरिदिने भयो।’ होवलदारले औंल्याएको अर्को महत्वपूर्ण विषय एउटा बैंकबाट अर्को बैंकमा ऋण ‘स्वाप गर्दा अस्वभाविक तरिकाले धितोको मूल्यांकन बढाउने गरिएको छ। ब्याज दर वा सेवा शुल्कलगायतका कारणले ऋण एउटा बैंकबाट अर्कोमा सर्नु पर्नेमा समस्याग्रस्त भएको ऋणलाई राम्रो बनाउन मूल्यांकन बढाएर अर्कोमा सार्ने अभ्यास बढी भएको छ। बैंकहरुले निर्देशित कर्जातर्फ धितोको अधिक मूल्यांकन गरिएको पनि पाइएको छ।होवलदारले पूर्ण प्रतिवेदन दिएपछि त्यसका आधारमा नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको सुधार योजना बनाएर काम गर्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्