आइतबार सेयर बजारमा बीस दिनपछि कारोबार रकम ६ अर्ब २८ करोड रूपैयाँ नाघ्यो। यसअघि कात्तिक १७ गते ६ अर्ब रूपैयाँमाथिको कारोबार भएको थियो। कारोबार रकम बढ्दा बजारमा लगानीकर्ताहरू आकर्षित हुन थालेको संकेत गर्छ। हुन त कात्तिक १५, १६ र १७ गते क्रमशः ७ अर्ब, ९ अर्ब र ६ अर्ब हुँदै बजारमा कारोबार रकम बढ्न छाडेर घट्न थालेको थियो। तर आइतबार बजार र कारोबार रकम दुवै बढ्दा बजार केही दिन बढ्ने अनुमान भइरहेको छ। अहिले बजार बढ्ने संकेत गर्नुमा मुख्य दुई कारण देखिएका छन्। पहिलो, राजनीतिक। जेनजी आन्दोलन र नयाँ सरकार गठनसँगै नेपालको राजनीतिक अवस्था तरल बन्दै गएको थियो। तर नेपालका पुराना ठूला दलहरूले निर्वाचनको तयारी र दल दर्ता गरेसँगै राजनीतिक संक्रमण अन्त्य हुँदै जाने आश लगानीकर्ताहरूमा देखिएको छ। आगामी फागुनमा हुने निर्वाचनका लागि पुराना दलको दर्ता मंसिर १० गतेसम्म खुला गरिएको छ।‘केही दल निर्वाचनमै नजाने भनिरहेका थिए। तर पुराना दलहरूले दल दर्ता गरेर निर्वाचनमा सहभागी हुने देखिएपछि लगानीकर्ताहरू आशावादी देखिएका हुन्,’ एक ब्रोकरले भने। मुलुक स्थिरतातर्फ जाँदा लगानीकर्ताहरूको पनि आत्मविश्वास बढ्दै जान्छ।
दोस्रो कारण हो, लचिलो मौद्रिक नीति।राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारीमा छ। गभर्नर विश्वनाथ पौडेलले लचिला नीति लिने संकेत आफ्ना वक्तव्य र विभिन्न फोरममा भएको छलफलमा व्यक्त गरिरहेका छन्।बैंकहरूले आफ्नो प्राथमिक पुँजी (कोर क्यापिटल) का आधारमा सेयर बजारमा लगानी गर्न पाउने ४० प्रतिशतको सीमामा राष्ट्र बैंकले पुनर्विचार गरिरहेको खबर सार्वजनिक भइरहेका छन्। यसले पनि बजारमा सकारात्मक सन्देश प्रवाह भइरहेको छ। यसअघिझैं अन्य विभिन्न कारण समेत बजार सुधारका लागि सहयोगी नै देखिएको छ। बैंकहरूको न्यून ब्याजदर, लाभांश दरमा आइरहेको सुधार र लगानीकर्ताले अहिले विभिन्न कम्पनीहरूबाट पाइरहेका लाभांश (लाभांशको सिजन) ले पनि बजारलाई सहयोग नै पुगिरहेको छ। आइतबारको कारोबारमा केही प्राविधिक विश्लेषणका उपकरणले समेत बजार बढ्ने संकेत गरेका छन्। प्राविधिक विश्लेषणले विशेषतः लगानीकर्ताहरूको मनोविज्ञान संकेत गर्छ। अहिले लगानीकर्ताहरू बजार प्रति सकारात्मक देखिएको यी विश्लेषणले देखाएका छन्।



