राष्ट्रियसभाका १८ पदमा ४५ जनाको उम्मेदवारी

Machchapuchchre

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ६ दलले उम्मेदवारी दिएका छन् । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु छन् ।

नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएको छ । प्रदेश २ मा नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टीबीच तालमेल भएको छ भने अन्य ठाउँमा सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् । सातवटा प्रदेशमा गरी महिला ७, दलित २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका २ र अन्य समूहका ७ गरी १८ पदका लागि निर्वाचन हुँदैछ ।

त्यसमध्ये महिला समूहतर्फ १६, दलित समूहतर्फ.५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कुल ४५ जनाले मनोनयनपत्र दर्ता गराएका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

प्रदेश १ मा ३ दलका ९ जनाले उम्मेदवारी दिएका छन् । महिला समूहतर्फको नेकपाका इन्दिरोवी गौतम, कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडहीले उम्मेदवारी दिएका छन् ।

दलित समूहतर्फ नेकपाका गोपीबहादुर सार्की अछामी, कांग्रेसका निरबहादुर विश्वकर्मा, र समाजवादी पार्टीका ज्ञानकुमार परियारले उम्मेदवारी दिएका छन् । अन्य समूहतर्फको रिक्त पदमा नेकपाका देवेन्द्र दाहाल, कांग्रेसका राजेन्द्रकुमार घिमिरे र समाजवादी पार्टीका भरतराज दाहालले उम्मेदवारी दिएका छन् ।

प्रदेश २ मा अल्पसंख्यक समूहबाट वर्तमान राष्ट्रियसभा सदस्य रामप्रित पासवानले मनोयनपत्र दर्ता गराएका छन् । गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यको पद गुमाउन लागेका उनले सोही पदमा पुन उम्मेदवारी दिएका हुन् ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ ले भने बहालवाला राष्ट्रियसभा सदस्यलाई उम्मेदवारी दिन रोक लगाएको छैन । यद्यपि सोमबार कसैले दावीविरोध परेमा छानबिन गरिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ बताउँछन् ।

प्रदेश २ बाट महिला समूहतर्फको रिक्त पदमा नेकपाकी तुलसाकुमारी दाहाल र काँग्रेसकी नगिना यादवले, दलित समूहमा नेकपाका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानले, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यकबाट राजपाका शेखरकुमार सिंह र कांग्रेसका भोला पञ्जियारले र अन्यबाट राजपाका मृगेन्द्रकुमार सिंह यादव र समाजवादी पार्टीका अनिरुद्ध कुमार सिंहले मनोनयनपत्र दर्ता गराएका छन् ।

अन्य समूहबाट उम्मेदवारी दिएका मृगेन्द्रकुमार र अनिरुद्रकुमार दाजुभाइ हुन् । उनीहरुले पहिलेदेखि फरकफरक दलबाटै राजनीति गर्दै आइरहेका छन् । प्रदेश ३ बाट महिला समूहतर्फ नेकपाकी गंंगाकुमारी वेल्वासे, काँग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् ।

अन्य समूहतर्फको रिक्त पदमा नेकपाका वेदुराम भुसाल, कांग्रेसका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशबाट महिलातर्फ नेकपाकी भगवती न्यौपाने र काँग्रेसकी बिमला गौचनले, अन्य समूहबाट नेकपाका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल र काँग्रेसका सूर्यप्रसाद रेग्मीले मनोनयनपत्र दर्ता गराएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्