राष्ट्रिय सभा निर्वाचन – नेकपा प्रवक्ता श्रेष्ठले गरे उम्मेदवारी दर्ता

Machchapuchchre

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशको निर्वाचनका कार्यालय पोखरामा पुगेर प्रवक्ता श्रेष्ठले आइतबार मध्याह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनले अन्यबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

उनीसँगै महिला समूहबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन्। श्रेष्ठकाे प्रस्तावकमा नेकपा केन्द्रीय सदस्य तथा गण्डकीप्रदेशका भाैतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत छन् भने समर्थकमा प्रदेशसभा सदस्य दिलमाया राेका छिन्। त्यस्तै न्याैपानेकाे प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पाेखरा उपमहानगरपािलकाकी उपमेयरमञ्जु गुरुङ छिन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठ गोरखा–२ मा पूर्वप्रधानमन्त्री एवं तत्कालीन नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईसँग ६ हजार ८ सय ८४ मतले पराजित भएका थिए। ६० हजार १ सय १७ मत खसेकोमा भट्टराईले ३१ हजार८ सय सात र श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए। २ हजार छ सय ३८ मत बदर भएको थियो। नेता श्रेष्ठ २०७० को चुनावमा मकवानपुर २ बाट पनि पराजित भएका थिए।

यस्तै पूर्वएमाले समूहबाट उम्मेदवार सिफारिस भएकी न्यौपाने पछिल्लो समय ओली निकट मानिन्छन्। उनी तत्कालीन एमालेको तनहुँ जिल्ला कमिटी सचिव थिइन्। उनी स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।

नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले श्रेष्ठ र न्यौपानेलाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको थियो।
राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । दुईवर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पद निर्वाचनबाट र एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर पदपूर्ति हुनेछ । १८ जनाको चयनका लागि माघ ९ मा निर्वाचन हुन लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्