Artharajniti ~ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात् मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । उद्योग सङ्गठन मोरङको आयोजनामा शनिवारदेखि विराटनगरमा सुरु भएको विराट एक्स्पो २०२५ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । राजनीति दुरुस्त नभई अरू कुनै क्षेत्रमा सुधार नहुने बुझेर नै एमाले र कांगे्रस मिलेर बनेको सरकारले राजनीतिलाई दुरुस्त बनाएकाले त्यसकै प्रभावले अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनको दाबी थियो । उत्पादन, रोजगारी, बैङ्कको तरलता, ब्याजदर, वैदेशिक मुद्रा सञ्चिती जस्ता सबै आर्थिक परिसूचकहरूमा सकारात्मक नतिजाहरू हासिल गरेको बताउँदै उनले अझ गतिशील ढङ्गले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चालिरहेको बताए । सरकारले सातै प्रदेशमा एक/एक हजार विगाहमा औद्योगिक क्षेत्र निर्माण गरिरहेको बताउँदै उनले मोरङमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको खोजी गर्न आग्रह गरे । साथै प्रदर्शनीस्थल निर्माणमा पनि सरकारले सहयोग गर्ने बताउँदै सम्भावित स्थानको खोजी गर्न अनुरोध गरे । उनले सुशासन र सेवा प्रवाहको क्षेत्रमा देखिएका समास्या समाधान गर्दै प्रभावकारी बनाउन अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन विद्यमान कानुनमा देखिएका अवरोधहरूलाई हटाउने उद्देश्यले एक साथ अध्यादेशबाट २९ कानुन संशोधन गरेको बताए । कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको नेपालको सीमावर्ती क्षेत्रको बजारलाई गुलजार बनाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति