राष्ट्रियसभा निर्वाचनका लागि राजपा र समाजवादीले उम्मेदवार टुंगो लगाए

Machchapuchchre

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश २ बाट अन्य समूहमा मृगेन्द्रकुमारसिंह यादव र अल्पसंख्यक/अपांगता समूहबाट शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बताए ।

यादव र सिंह दुबै जना पार्टीको वरिष्ठ उपाध्यक्ष हुन् । दुबै जना सप्तरी निवासी हुन् । यादव संयोजक महतो निकटका हुन् भने सिंह अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी निकटका नेता हुन् । राजपाबाट यसअघि राजपाको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रमेश यादव र बृखेशचन्द्र लालको पदावधि सकिँदै छ । रमेश नेता महन्थ ठाकुर निकट र बृखेशचन्द्र नेता महेन्द्रराय यादव निकटका नेता हुन् ।

ठाकुर र यादव हाल सदस्य भएकालाई नै दोहोर्‍याउने पक्षमा थिए भने महतो, भण्डारीसहित राजकिशोर यादव र अनिल झा नयाँ अनुहार पठाउने पक्षमा उभिएका थिए । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाले प्रदेश २ तर्फको चार सिटमा दुई/दुई सिट लिने र एकअर्कालाई सहयोग गर्ने सहमति २ पुसमा नै गरिसकेका छन् ।

यसैगरी, समाजवादी पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले अहिले भएका सदस्यलाई नै दोहोर्‍याउने निर्णय गरेको छ । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले दलितबाट सदस्य भएका रामपृत पासवानलाई नै पुनः उम्मेदवार बनाउने निर्णय भएको बताए ।

अन्य समूहबाट हुने उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी समाजवादी पार्टीका बीचमा राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति शुक्रबार नै भएको छ ।

प्रदेश २ मा हुने ४ पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति कांग्रेस र समाजवादीबीच भएको छ । नेकपाले शुक्रबार र कांग्रेसले शनिबार उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्