Atharajniti ~ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न आवशक रहेको बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्यमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकेको उल्लेख गरे । उनले भने, ‘स्वास्थ्यमा भएको लगानी व्यवस्थित नभएकाले जुन परिणाम दिनुपर्ने हो त्यो परिणाम प्राप्त हुन सकेको छैन । लगानी पनि आवश्यकताअनुसार (पूर्ण हुने कुरा त धेरै परको कुरा भयो) न्युनतम आवश्यक पूरा गर्ने ढंगको पनि भइरहेको छैन । नागरिकको स्वास्थ्य सरकारको दायित्व हो । यो सबैले स्वीकार गरेको कुरा हो । एकदमै पुँजीवादी देशले पनि स्वास्थ्यको दायित्वबाट विमुख हुन सकेका छैनन् । स्वास्थ्य कुनै न कुनै ढंगबाट राज्यले दायित्व लिनुपर्ने कुरा हो ।’
‘राज्यको दायित्वको विषयमा राज्यले कति लगानी गरेको छ । कति प्राथमिकतामा राखेको छ, यसको व्यवस्थापन कति चुस्त, दुरुस्त हुन सकेको छ, यो आजको एकदमै महत्वपूर्ण विषय हो । हाम्रोमा संरचनागत पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौँ, उपकरण उपलब्धताको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेनौँ, जनशक्तिको पक्षबाट पनि यसलाई व्यवस्थित गर्न सकेका छैनौँ । अस्पताल बनाएर मात्रै हुँदैन, अस्पतालभित्र उपकरण र जनशक्ति पनि हुनुपर्छ ।’ उनले भने ।