अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाखको भ्रष्टाचार मुद्दा दायर

Machchapuchchre

काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव ढुङ्गानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका ढुङ्गानाले त्यसयता विभिन्न क्षेत्रमा गरी कूल ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ खर्च तथा लगानी गरेका देखिएको छ । तर, उनले त्यस अवधिमा ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्रै वैध रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

उनले गरेको खर्च तथा लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत नखुलेका कारण अख्तियारले सोही रकम बराबर बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार ढुङ्गानाले अवैध रुपमा आर्जन गरेको रकमबाट आफूसहित आफ्नी श्रीमती मघु कोइराला (ढुङ्गाना)का नाममा समेत चल तथा अचल सम्पत्ति खरिद गरेका छन् ।

अख्तियारले ढुङ्गानाविरुद्ध विगोअनुसार जरिवानाका र अवैध रुपमा आर्जिक सम्पत्ति जफतका साथै २ वर्ष कैद सजाय समेत मागदाबी गरेको छ । अख्तियारले उपसचिव ढुङ्गानाकी श्रीमती मधुलाई समेत प्रतिवादी बनाएर अवैध रुपमा आर्जन गरी उनको नाममा कायम भएको सम्पत्ति जफतको मागदाबी समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्