” ६ % को आर्थिक वृद्धिका लागि कम्तीमा ११ % ले कर्जा विस्तार हुनुपर्छ ” : अध्यक्ष केसी

Machchapuchchre

Artharajniti  ~  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिका लागि कम्तीमा ११ प्रतिशतले कर्जा लगानी वृद्धि हुनुपर्ने बताएका छन् । चालू आर्थिक वर्षको ९ महिनाको स्थितिमा निजी क्षेत्रको कर्जा प्रवाह ४.३ प्रतिशत मात्र रहेकोमा यसलाई थप विस्तार गर्ने नीति चाहिने उनले बताए । आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटको सन्दर्भमा बिहीबार राजधानीमा आयोजित छलफल कार्यक्रममा बोल्दै अध्यक्ष केसीले बजेटले बैंक तथा वित्तीय क्षेत्र राम्रो सम्बोधन गरेको बताए । ‘उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई मुख्य लक्ष्य बनाएर आएको बजेटले ठुलो आशा जगाएको छ । खासगरी कृषि, उत्पादन, उर्जा क्षेत्र र पूर्वाधार क्षेत्रमा बजेट फोकस भएकाले यसले बैंकिङ लगानी समेत बढ्ने अपेक्षा रहेको छ । अहिले जसरी लगानी नभएर बैंकिङ क्षेत्रमा तरलता थुप्रिएको छ, यसलाई उत्पादनमा परिचालन हुने हाम्रो विश्वास छ’ अध्यक्ष केसीले भने । यस्तै बजेटले विदेशी लगानीको भुक्तानीमा लाग्ने ब्याज आय कर घटाएकोले लगानी भित्र्याउन सहज हुने केसीले बताए । सरकारले आर्थिक विधेयक २०८१ बाट कर्जा भुक्तानीमा लाग्ने ब्याज आय करलाई ५० प्रतिशतले घटाउदै ७.५ प्रतिशतमा झारिदिएको छ । कार्यक्रममा अध्यक्ष केसीले बैंकिङ क्षेत्रमा पुँजी वृद्धि र कर्जा लगानीको जोखिम अहिले पनि रहेकाले यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए । आर्थिक शिथिलताको परिणाम पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जाको चुनौती सामना गर्नुपरेको भन्दै अध्यक्ष केसीले यसलाई रोक्ने नीति ल्याउनुपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्