कैलाश सिरोहियालाई छोड्यो हाजिर जमानीमा

Machchapuchchre

Artharajniti   ~  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा छुटेका छन्। उनलाई अब अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भन्दै प्रहरीले हाजिर जमानीमा छोडेको सिरोहियाका वकिल रमण कर्णले  बताए। ‘सरकारी वकिल कार्यालय धनुषाको अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो,’ कर्णले भने। उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी छुटेका हुन्। उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम हाजिर जमानीमा छोडिएको हो। उक्त संहिताको दफा १५ मा भनिएको छ- अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी कि जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ। सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक तीन दिनको म्याद थप गरेको थियो। तेस्रो पटक तीन दिनको म्याद थप गर्दा सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उपयुक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो। अनुसन्धानका लागि नागरिकता विवरण किताबमा रहेको हस्ताक्षर र हस्तलिखित नमूनाको परीक्षण प्रतिवेदन माग गरी मिसिल संलग्न गर्ने, सिरोहियाको औंठाछापको नमूना परीक्षणको लागि पठाउने र घटना विवरणका कागज बुझ्न जिल्ला प्रहरी कार्यालय काठमाडौं लगायत निकायबाट विवरण मगाउन बाँकी रहेको भन्दै धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई तीन दिन म्यादका लागि अनुमति दिएको थियो। सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्