ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के-के विषयमा भयो छलफल

Machchapuchchre

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच करिब २ घण्टा बैठक चलेको थियो। विहान १० बजेदेखि सुरू भएको बैठक झण्डै १२ बजेसम्म चलेको थियो।

सभामुख चयनका विषयमा भएको छलफलमा दुवै नेताले आ–आफ्नो अडान नछाड्दा सहमति हुन सकेन । ओली प्रचण्डबीच सभामुख चयनको विषयमा सहमति नहुँदा प्रतिधिभिसभाको बुधबार बस्ने गरी तय भएको बैठक ११ दिन पछि (पुस १७ गते)का लागि सारिएको छ ।

प्रतिनिधिसभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुखको निर्वाचनका लागि दिन (मिति) तोक्नेसँग सम्बन्धित छ । तर, सत्तारुढ दल भित्रको असहमतिले संसद नै बन्धक बन्न पुगेको छ ।

भावी सभामुखका लागि नेकपाका २ जना नेताको नाम चर्चा छ । संविधान सभाका तत्कालीन अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपा स्थायी कमिटी सदस्य अग्नी सापकोटा भावी सभामुखका लागि ‘प्रस्पिर्धा’मा छन् ।

तर, दुवै अध्यक्षबीच २ मध्ये कुनै १ जनालाई सभामुखको उम्मेदवार बनाउने भन्नेबारे सहमति हुन सकेको छैन । मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुग्दा प्रधानमन्त्री ओलीले भावी सभामुखका लागि सुवासचन्द्र नेम्वाङको नाममा सहमति जनाउन आग्रह गरेका थिए ।

तर, प्रचण्डले भने अग्नीलाई छाडेर सुवासलाई बोक्न नसकिने तर्क अगाडि सारे । ‘पार्टी एकताकै लाइनअनुसार पनि साथीहरुले सभामुख पद नछाड्ने भनेर चर्को दवाव दिइरहनुभएको छ । ममाथि चर्को विवाद छ भन्ने तपाईंले पनि बुझिदिनु पर्‍यो,’ अध्यक्ष प्रचण्डले ओलीको प्रस्तावप्रति जनाएको प्रतिक्रिया उद्धृत गर्दै प्रचण्डनिकट एक नेकपा नेताले भने, ‘अरु साथीहरुले पनि सुवासजीको नाममा सहमति जनाउने अवस्था छैन ।’

प्रचण्डको जवाफ पछि पनि ओलीले सभामुखका लागि नेम्वाङ मात्रै उपयुक्त पात्र भएको जिकिर गरेका नेकपाको ती नेताको भनाइ छ । ‘सरकारले आफ्ना कामहरु प्रभावकारी रुपमा अगाडि बढाउन संसदको पनि सहयोग आवश्यक पर्छ । सबैलाई मिलाएर समन्वयकारी भूमिका निर्वाह गर्न सुवासजी नै उपयुक्त पात्र हो,’ प्रचण्डसँग ओलीको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्