Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् प्रभावहीन बनेको बताएका छन्। उनले बिहिबार प्रतिनिधि सभाको बैठकमा ६ महिनामा बजेटसँग सम्बन्धित बाहेक जम्मा एउटा मात्र विधेयक पास गरिनु लज्जाको विषय भएको बताए। ‘एउटा बैठकमा १० लाखका दरले ६ करोड १० लाख खर्च भयो तलब बाहेक। तर संसद्ले बजेटसँग सम्बन्धित बाहेक मात्र एउटा कानुन बनायो। यो भन्दा प्रभावकारी काम मैले टेलिभिजन कार्यक्रम चलाउँदा गरेको थिएँ,’ उनले भने। संसद् अधिवेशन वैशाख २४ गते सुरु भएको थियो। त्यसयता ६१ दिनमा प्रतिनिधि सभाको ६५ वटा बैठक बसेको छ। बैठक बसेका दिन सांसदहरुले बैठक भत्ता र यातायात खर्च शीर्षकमा जनही २ हजार रुपैयाँ पाउँछन्। तलब सिन्को नभाँचे पनि पाक्छ। लामिछानेले संसद् नागरिकका समस्या समाधानमा प्रभावकारी हुन नसकेको बताए। ‘संसद्मा आरोप प्रत्यारोप चल्छ। शीर्ष नेताको भाषणमा मिथ्यांक प्रस्तुत गरिन्छ। उनीहरुको लहडमा संसदलाई बन्धक बनाइन्छ। तर नागरिकका समस्या समाधानमा कसैलाई चासो छैन। विधायकी कामको गति र मति टीठलाग्दो छ,’ उनले भने। लामिछानेले प्रमुख तीन दलसँग व्यवस्था र संविधान कसका कारण खतरामा परेको भनी प्रश्न गरे। कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताले व्यवस्थामाथि प्रहार हुन थालेको अभिव्यक्ति दिंदै आएकामा लामिछानले सोधे, ‘व्यवस्था र संविधान अरुका कारण खतरामा छ कि तपाईं हाम्रो चरित्र र व्यवहारका कारण?’ उनले तीन दलमाथि व्यवस्था र प्रणालीलाई बलियो बनाउनेभन्दा सत्ता स्वार्थमा मात्र केन्द्रित भएको आरोप लगाए। ‘व्यवस्था बलियो बनाउन प्राथमिकता दिएको भए अहिले चिन्ता गर्नै पर्दैनथ्यो। हामी प्रणाली जोगाइरहेका छौं कि आफ्ना मान्छे जोगाइरहेका छौं। हामीलाई अनुसन्धानमा आफ्ना मान्छे जोगाउने र जेलमा रहेका मान्छे छुटाउन मात्र चिन्ता छ,’ उनले भने।
सभापति लामिछाने : “६ महिनामा एउटा मात्र कानुन बनाइनु लज्जाको विषय हो “
 
			


 
					
 
                             
							 
                             
                             
                             
                            