कार्यवाहक प्रधानमन्त्री खड्का :- “अर्थतन्त्र चलायमान बनाउन सरकारले काम गरिरहेको छ “

Machchapuchchre

Artharajniti   ~  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान बनाउन सरकारले काम गरिरहेको दाबी गरेका छन्। उनले आर्थिसक गतिविधि बढाउन विभिन्न कार्यक्रम गरिरहेको बताए। तर अर्थतन्त्र चलायमान बनाउन सरकारले सञ्चालन गरेका कार्यक्रम के हुन् भन्ने चाहिं उनले प्रष्ट पारेनन्। कार्यवाहक प्रधानमन्त्री खड्काले बिहिबार सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पुगेर भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालय उद्‍घाटन गर्दै विकास आयोजनामा बजेट बढाइएको बताए। तर विकास बजेट अहिले खर्च भएको छैन। यो आर्थिक वर्ष विकास बजेट ३ खर्ब २ अर्ब विनियोजन गरिएकामा अहिलेसम्म ३ प्रतिशत अर्थात १० अर्ब रुपैयाँ मात्र खर्च भएको सरकारी तथ्यांक छ। खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतको सुविधाका लागि भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको बताए। ‘डोल्पा, जाजरकोट, रूकुम, सल्यान र सुर्खेतमा भेरी नदीसँग जोडिएका पालिकामा सडक, विद्युतीकरण, सिँचाइलगायत सामाजिक सेवाका कार्य गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो’, उनले भने, ‘भेरीको पानी बबईमा खस्नुअघि नै भेरी किनारका पालिकामा उद्देश्य अनुसारका काम सम्पन्न गर्छौं।’ उनले आयोजना तीव्रताका साथ अघि बढाउन निर्देशन समेत दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्