एमाले :- ” सरकारकै कारण अर्थतन्त्र र शेयरबजार संकटमा “

Machchapuchchre

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारका कारण मुलुकको अर्थतन्त्र शिथिल भएको आरोप लगाएको छ । एमालेनिकट उद्योगी व्यवसायीको संगठन नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मंगलबार एमाले नेताहरुले उद्योग, व्यवसाय र सेयर बजारमा समस्या देखिनुको प्रमुख कारण नै सरकार भएको आरोप लगाएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण अर्थतन्त्र, उद्योग धन्दा र सेयर बजार अप्ठ्यारो अवस्थामा पुगेको दाबी गरे । अर्थतन्त्रको सुधार सामान्य उपचारले नहुने भन्दै उनले भने, ‘सिटामोल खाएर काम लाग्ने वाला छैन । यो रोग हट्दैन, एक दिनको ज्वरो पनि हट्ने अवस्था छैन ।’ यसो भन्दा एमालेलाई सरकारमा जान हतार भएछ कि क्या हो भन्ने अर्थ लाग्न सक्ने भन्दै ओलीले स्पष्टीकरण दिए, ‘हामीलाई हतार छैन । हामी मिसन ०८४ मा लागेका छौं ।’ उनले अगाडि भने, ‘तर हामी के देखिरहेका छौं भने ०८४ को चुनावसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ वा रहँदैन ? शेयर बजार रहन्छ कि रहन्न अवस्था त्यस्तो भएको छ ।’ सरकारमा बस्नेहरुलाई अर्थतन्त्र सुधारबारे सोच्ने र छलफल गर्ने समय नभएको ओलीले बताए । ‘अहिलेको अवस्थामा सरकार कसरी टिकाउने यसमै ध्यान छ’, उनले भने, ‘कुनै कदम चाल्ने, छलफल गर्ने फुर्सद समेत छैन ।’ एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताए । सरकारले अर्थतन्त्रको समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनिसमस्या बुझ्न र समाधनको निर्णय गर्न नसक्ने उनको दाबी छ । निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनिसडकबाट दबाब दिन आवश्यक रहेको पौडेलले बताए । ‘अहिले अर्थतन्त्र दूरवस्थामा छ, समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन सक्दैन’, उनले भने । नेता पौडेलले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्रमा सुधार भएको मान्न नमिल्ने जिकिर गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्